काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा विगतमा सम्पूर्ण कम्पनीको कारोबार भोल्युम एक अर्ब रुपैयाँ नाघ्दा ठूलो चर्चाको विषय बन्थ्यो । तर, हिजोआज दैनिक २०-२२ अर्ब रुपैयाँबराबरको सेयर कारोबार सामान्य जस्तो लाग्न थालेको छ भने एउटै कम्पनीको कारोबार अर्ब नाघ्न थालेको छ ।
केही दिनदेखि लगातार उच्च कारोबार भइरहेको हिमालयन रि-इन्स्योरेन्सको मंगलबार सर्वाधिक १ अर्ब ३९ करोड ७८ लाख ८० हजार ३८३ रुपैयाँको सेयर किनबेच भएको छ । नेपालको सेयर बजार इतिहासमा एउटै कम्पनीको एकै दिन यति ठूलो भोल्युममा सर्वासाधारण सेयर किनबेच भएको सम्भवत: यो नै पहिलो हो ।
सोमबार पनि हिमालयन रिको १ अर्ब २६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।
नेपालको सेयर बजारमा कुल कारोबार रकमले नयाँ रेकर्ड बनाएको दिन हिमालयन रिले पनि रेकर्ड बनाएको छ । मंगलबार ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ रुपैयाँमा किनबेच भएको हो । यो रकम नेपालको सेयर बजार इतिहासमा हालसम्मकै उच्च हो ।
यसअघि साउन १६ गते २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँको सेयर कारोबार भएको थियो । कारोबार रकमले इतिहास रचेको दिन नेप्से परिसूचक भने १४५.०५ अंकको छ ।