• Menu

बागलुङको अर्नाकोटमा रोपेकै वर्ष फल्यो लटरम्म स्याउ, किसान उत्साहित

नेपाल प्रफिट

२०८१ साउन २०, ०९:४३

बागलुङको अर्नाकोटमा रोपेकै वर्ष फल्यो लटरम्म स्याउ, किसान उत्साहित

बागलुङ । निसीखोला गाउँपालिका-२ अर्नाकोटका किसानले व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्षअघि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो ।

२०७८ सालमा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती सुरु गरेका थिए । हाल गाउँका धेरै किसान आकर्षित भएका छन् । पोखराबाट इटिलियन गालाफुजी जातका बिरुवा ल्याएर लगाएको एक वर्षमा फल लागेपछि किसान उत्साहित भएका हुन् ।

पहिलो वर्ष गाउँमा किसानले कृषि ज्ञान केन्द्रबाट ६० वटा स्याउका बिरुवा अनुदानमा लिएर लगाएका थिए । बिरुवा हुर्किएर फल दिन थालेपछि दोस्रो वर्ष थप ९० वटा बिरुवा अनुदानमा लिएर लगाए ।

यस वर्ष निसीखोला गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा सात सय बिरुवा लगाएको अगुवा किसान चेतबहादुर कुँवरले बताए । गाउँमा स्याउखेतीको सम्भावना देखेपछि गाउँका अधिकांशले स्याउका बिरुवा लगाउन थालेका उनले जानकारी दिए ।

अर्नाकोटमा खानेपानीको अभाव हुँदा बिरुवा हुर्काउन भने समस्या छ । तर, अब सिङ्गो गाउँ नै स्याउ उत्पादनबाट आत्मनिर्भर बन्ने आशा पलाएको कुँवर बताउँछन् ।

उनका अनुसार खानेपानी अभावमा धेरै नागरिक बसाइँसराइ गर्न बाध्य भएको सन्दर्भमा गाउँमा स्याउ उत्पादनको ठूलो सम्भावना देखिएपछि धेरैले गाउँ नछाड्ने निर्णय लिएका छन् । तीन वर्षअघि लगाएको स्याउ थोरै भए पनि बजारमा पठाउन थालेको कुँवरले बताए । उनका अनुसार अहिले अर्नाकोटमा करिब १५० बोटमा स्याउ फलेका छन् ।

अर्का किसान दुर्गाबहादुर ओलीले पहिलो वर्ष २२ वटा स्याउका बिरुवा लिएर लगाएका थिए । अहिले खेती बढाउँदै गएका छन् । वर्षौँदेखि पशुपालनसँगै निर्वाहमुखी खेतीपाती गर्दै आएका उनले अहिले स्याउखेतीमा बढी नै जोड दिएका छन् ।

‘यहाँको हावापानी स्याउखेतीका लागि उपयुक्त रहेछ,  पोहोर लगाएका बिरुवाले फल दिएका छन्, यसले हामीलाई हर्षित बनाएको छ,’ ओलीले भने, ‘खानेपानी नभएको ठाउँमा स्याउ लगायौँ, सिँचाइको व्यवस्था हुने हो भने व्यावसायिक रूपमा उत्पादन गर्न सकिन्छ ।’

निसीखोला गाउँपालिकाका कृषि प्राविधिक तारा परियारले स्याउखेतीतर्फ किसानको चासो बढेपछि इटालियन जातको स्याउका बिरुवा जुम्लाबाट ल्याएर वितरण गरिएको बताए ।

गाउँपालिकाले चार लाख ११ हजार २५० रुपैयाँमा बिरुवा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएका हो । उनका अनुसार किसानले करिब ४० रोपनी क्षेत्रफलमा स्याउका बिरुवा लगाएका छन् ।