• Menu

येन कमजोर बन्दा टोयोटालाई फाइदा !

नेपाल प्रफिट

२०८१ साउन १७, १३:०४

येन कमजोर बन्दा टोयोटालाई फाइदा !

एजेन्सी । कमजोर येन र लागत कटौतीले विश्व प्रसिद्ध जापानी कार उत्पादक कम्पनी टोयोटालाई घरेलु बजारमा उत्पादन र बिक्रीमा आएको गिरावटका कारण हुने हानी कम गर्न मद्दत पुगेको छ ।

कम्पनीको पहिलो त्रैमासिकको खुद नाफामा सामान्य वृद्धि भएको बिहीबार टोयोटाको जनाएको छ ।

कम्पनीको खुद आम्दानी १.७ प्रतिशतले बढेर १.३३ ट्रिलियन येन (८.९ अर्ब अमेरिकी डलर) पुगेको छ भने सञ्चालन नाफा १६.७ प्रतिशतले बढेर १.३१ ट्रिलियन येन पुगेको छ । राजस्व संकलन १२.२ प्रतिशत बढेर ११.८ ट्रिलियन येन पुगेको छ ।

बिक्रीका आधारमा विश्वको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी टोयोटाले वर्षभरीको आम्दानीको पूर्वानुमानमा कुनै परिवर्तन नभएको जनाएको छ ।

टोयोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जापानमा उत्पादन र बिक्रीमा कमी आए पनि विदेशी विनिमय दर र लागत घटाउने प्रयासको प्रभावका कारण हाम्रो सञ्चालन आय १.३ ट्रिलियन येन थियो ।’

प्रमाणीकरणको समस्या र फिर्ता जस्ता कारकहरूले गर्दा जापानमा स्थिर उत्पादन कायम गर्न असमर्थताको बावजुद आपूर्तिकर्ता र व्यावसायिक किनबेचमा सहकार्यमा संलग्न डिलरसहित सबै सरोकारवालाको सहयोगले नाफा वृद्धि गर्न सफल भएको कम्पनीले जनाएको छ ।