झापा । आर्थिक वर्ष २०८०/८१ झापामा एक हजार ११० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ ६२९ र वाणिज्यतर्फ ४८१ फर्म दर्ता भएका हुन् ।
कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार २८८ उद्योग खारेज हुँदा एक हजार ७०८ उद्योगले नवीकरण गरेका छन् । गत आवमा २४३ उद्योगले पुँजी वृद्धि गर्दा झापाका घरेलु तथा साना उद्योगको पुँजी तीन अर्ब २८ करोडले बढेको थियो । वाणिज्यतर्फ २७८ फर्मले पुँजी वृद्धि गर्दा पाँच अर्ब एक करोड १० लाख ५० हजार भएको छ ।
उक्त कार्यालयले गत आवमा दुई करोड ६८ लाख ९० हजार ७५० रुपैयाँ राजस्व संकलन गरेको छ । आव २०७९/८० मा एक करोड ८० लाख ६ हजार संकलन भएको थियो ।