जुम्ला । तिला गाउँपालिका-१ रारागाउँमा चार करोडको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ । गत आर्थिक वर्षमा गाउँपालिकाले ६ करोडको ठेक्का आह्वान गरेकामा चार करोडमा निर्माण कम्पनी शिवदेउती सुलोचना बजु जेभीसँग सम्झौता भएको हो ।
गाउँपालिका प्राविधिक शाखाका प्रमुख धनप्रसाद चौलागाईँका अनुसार तीन वर्षभित्रमा आयोजना पूरा गर्नुपर्नेछ । पहिलो चरणमा आयोजनाका निम्ति आवश्यक पर्ने सामग्री खरिद गर्न सुरु भएको छ ।
आयोजनाका लागि संघीय सरकारबाट विशेष अनुदानअन्तर्गत एक करोड ५० लाख प्राप्त भएको थियो । आयोजनाका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) बाट ९५ लाख र पालिकाले एक करोड १० लाख रुपैयाँ व्यहोर्नेछ ।
गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार आयोजना पूरा भएपछि तिलाका २६० परिवार लाभान्वित हुनेछन् । तिला–६ बाट रारागाउँ मुहानसम्म १५ किलोमिटर लामो संरचना निर्माण गर्नुपर्नेछ ।
यसैबीच, कनकासुन्दरी गाउँपालिका–४ स्थित भैसेडी भएर बग्ने हिमा नदीमा पक्की पुल निर्माण भएको छ । पुल निर्माणसँगै यातायातका साधन पनि सञ्चालनमा आएका छन् । पूर्वाधार विकास कार्यालयले उक्त पुल मूल्य अभिवृद्धि करसहित चार करोड ३२ लाख ६३ हजारमा निर्माण गरेको हो । यो पुल ३० मिटर लामो छ ।