• Menu

ऋणको पुन:संरचनापछि सेन्ट्रल बैंक अफ श्रीलंकाले घटायो ब्याजदर

नेपाल प्रफिट

२०८१ साउन ९, बुधबार १४:४१

ऋणको पुन:संरचनापछि सेन्ट्रल बैंक अफ श्रीलंकाले घटायो ब्याजदर

एजेन्सी । श्रीलंकाको केन्द्रीय बैंकले ब्याजदर कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुन:संरचनापछि बुधबार सेन्ट्रल बैंक अफ श्रीलंकाले पहिलो पटक ब्याजदर कटौती गरेको हो ।

श्रीलंकाको केन्द्रीय बैंकले मुद्रास्फीति अनुकूल वातावरणमा मौद्रिक नीति सहज बनाउनका लागि ऋण तथा निक्षेप दुवै दर २५ आधार अंकले घटाएको जनाएको छ ।

श्रीलंकाले सामना गरिरहेको विदेशी मुद्रा संकटको चरम अवस्थामा सन् २०२२ सेप्टेम्बरमा ७० प्रतिशतको उच्च मुद्रा स्फीतिको तुलनामा जुनसम्ममा मुद्रास्फीति १.७ प्रतिशतमा सीमित भएको छ ।

केन्द्रीय बैंकले कठिन परिस्थितिमा आर्थिक गतिविधिको पुनरुत्थानसहित निरन्तरता दिँदै सहज मौद्रिक अवस्था जारी राख्न ब्याजदर घटाएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

सेन्ट्रल बैंक अफ श्रीलंकाका अनुसार बुधबारको ब्याजदर कटौती मार्चमा ५० आधार बिन्दु कटौतीपछि आएको हो । सन् २०२२ को बाह्य ऋणको पुनः संरचना गर्ने अन्तिम चरणमा सरकारले यस महिनाको सुरुमा अन्तर्राष्ट्रिय निकायसँग पुनः भुक्तानी सम्झौतालाई अन्तिम रूप दिएको थियो ।

गत वर्षको दोस्रो त्रैमासदेखि अर्थतन्त्रमा सुधार आएको सेन्ट्रल बैंक अफ श्रीलंकाले जनाएको छ । यसैगरी वर्षको पहिलो तीन महिनामा ५.४ प्रतिशतले आर्थिक वृद्धि भएको र दोस्रो त्रैमासिकमा बलियो विस्तार भएको जानकारी पनि केन्द्रीय बैंकले दिएको छ ।

सन् २०२२ मा भएको ७.३ प्रतिशतको ब्याजदर वृद्धिको रेकर्डपछि गत वर्ष श्रीलंकाको अर्थतन्त्र २.३ प्रतिशतले संकुचित भएको थियो । महिनौँको विरोध प्रदर्शनले तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षलाई राजीनामा दिन बाध्य बनाएको थियो ।

उनका उत्तराधिकारी रनिल विक्रमसिंघेले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट २.९ अर्ब डलरको सहयोग प्राप्त गरेपछि राजस्व बढाउन कर दोब्बर, उदार ऊर्जा अनुदान कटौती र आवश्यक वस्तुहरूको मूल्य बढाएका थिए ।