भोजपुर । कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आएका छन् । १० वर्षअघि कृषि कर्ममा लागेका उनले उदाहरणीय उद्यमीको परिचय बनाएका हुन् ।
स्वदेशमा नमुनायोग्य काम गर्ने अठोटका साथ कृषिमा लागेका उनले भोजपुर नगरपालिका–१२ टक्सारमा व्यवसाय सञ्चालन गरेर वार्षिक १५ देखि १८ लाखसम्म आम्दानी लिने गरेको बताए । लगनशील भएर काम गरे पैसा कमाउन विदेश जानु नपर्ने उनी बताउँछन् ।
उद्यमी श्रेष्ठले व्यावसायिक रूपमा कुखरा, बंगुर, माछापालनसँगै केराखेती पनि गरिरहेका छन् । व्यवसायमा उनले हालसम्म एक करोड हाराहारीमा लगानी गरेका छन् । कृषिलाई व्यवसायका रूपमा अँगाल्न गाउँका युवालाई प्रेरित गर्दै उनले सीप पनि सिकाउँदै आएका छन् ।
राज्यले अनुदानका कार्यक्रम सञ्चालन गर्दा वास्तविक किसानसम्म पुग्नुपर्ने उनले बताए । पहुँचका भरमा कतिपय अनुदानका कार्यक्रम सञ्चालन गरिँदा वास्तविक किसान मर्कामा पर्ने उनको बुझाइ छ । कृषिमा उदाहरणीय काम गरिरहेको भए पनि हालसम्म राज्यबाट कुनै सहयोग नपाएको उनले बताए ।
श्रेष्ठले आफ्नै फार्मबाट उत्पादन भएको मलको सदुपयोग गर्दै व्यावसायिक केराखेती पनि गरिरहेका छन् । भोजपुर टक्सारमा अजिमा कृषि तथा पशुपालन फार्ममा दुई सय बोट केरा लगाएको उनले बताए । यसलाई विस्तार गर्ने उनको लक्ष्य छ ।
हाल उनले एक स्थानमा बंगुरपालन, पाँच स्थानमा व्यावसायिक कुखुरापालन र दुईवटा पोखरीमा माछापालन गरिरहेका छन् । उत्पादित मलको सदुपयोग गर्दै व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गर्ने योजना उनले सुनाए ।
खेती विस्तारका लागि उनले २० रोपनी जग्गा भाडामा लिएका छन् । व्यवसायी श्रेष्ठले ६ जनालाई रोजगारी पनि दिएका छन् । ‘कृषिकर्म गर्ने दक्ष जनशक्ति पाउन समस्या छ । लगनशील भएर कृषिमा लाग्ने हो भने मनग्य कमाउन सकिन्छ, युवापुस्तामा आफ्नो ठाउँमा मेहनत गर्ने बानी हराउँदै गएको छ,’ उनले भने ।