• Menu

सेयर बजारमा लगातार तेस्रो दिन उच्च अंकको वृद्धि, आज एकै दिन १५ अर्बको कारोबार

नेपाल प्रफिट

२०८१ साउन ३, १५:१९

सेयर बजारमा लगातार तेस्रो दिन उच्च अंकको वृद्धि, आज एकै दिन १५ अर्बको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन उच्च अंकले बढेको छ । मंगलबार ७० अंक र बुधबार ५४ अंकले बढेको नेप्से साताको अन्तिम दिन बिहीबार ५९ अंकले बढेको हो ।

बैंक समूहमा उछाल आएपछि नेप्सेले २४२४ अंक पार गरेको छ । आज बैंक समूह ६.२८ प्रतिशतले बढेपछि समग्र बजार परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ अंकमा पुगेको हो ।

आज वित्त र जलविद्युत समूह भने घटेका छन् । केही दिनदेखि उच्च दरमा बढिरहेका दुवै समूहका लगानीकर्ताले आज ‘प्रफिट बुक’ गरेका कारण ती समूह घटेका हुन् । बाँकी समूह सबै बढेका छन् ।

कारोबार रकम पनि आज उल्लेख्य बढेको छ । आज १५ अर्ब ५४ करोड रुपैयाँको सेयर कारोबार भएको हो । मंगलबार ९ अर्ब ७ करोडको सेयर कारोबार भएको बजारमा बुधबार १२ अर्बमाथिको कारोबार भएको थियो ।

नयाँ सत्ता समीकरण बनेयता १३ दिन सेयर कारोबार हुँदा ११ दिन बजार बढेको छ । जेठ १७ यता सेयर बजार ३८७.२३ अंकले बढिसकेको छ ।