• Menu

नेप्से परिसूचक ५४ अंकले बढ्यो, १२ अर्बको सेयर किनबेच

नेपाल प्रफिट

२०८१ साउन २, बुधबार १५:३१

नेप्से परिसूचक ५४ अंकले बढ्यो, १२ अर्बको सेयर किनबेच

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार ५४ अंकले बढेको छ । व्यापार, होटल तथा पर्यटन र वित्त समूहमा उछाल आएपछि समग्र बजार परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ अंकमा उक्लिएको हो ।

आज सबै उपसमूहमा हरियाली छाएको छ । सबैभन्दा धेरै व्यापार ७.३, होटल तथा पर्यटन ५.५५, वित्त ५.५ र विकास बैंक समूह ४.०९ प्रतिशतले बढेको छ ।

त्यस्तै बैंक २.०८, जलविद्युत १.७१, लगानी १.५३, जीवन बिमा २.१८, उत्पादनमूलक ३.०२, लघुवित्त १.८४, निर्जीवन बिमा ३.३४, अन्य १.३६ र म्युचुअल फन्ड ०.०८ प्रतिशतले बढेको छ ।

नेप्से ५४ अंकले बढ्दा पनि ३२ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने २०४ कम्पनीले कमाएका छन् । लगातार बढेको बजारमा अल्पकालीन लगानीकर्ताले प्रफिट बुक गर्दा बिक्री चाप घट्न गई ती कम्पनीको मूल्य ओरालो लागेको हो ।

कारोबार रकम दैनिक उच्च बन्दै गएको छ । आज १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । मंगलबार पनि ९ अर्ब ७ करोडको सेयर कारोबार भएको थियो ।

आज सर्वाधिक मूल्य बढ्नेमा सेन्ट्रल फाइनान्स, सिंगटी हाइड्रो इनर्जी, आँखुखोला जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रो र सीईडीबी हाइड्रो छन् ।