• Menu

अयोध्याबाट जनकपुरधाम आइपुग्यो ‘सरयू कमला एक्सप्रेस’, तीर्थयात्रीलाई भव्य स्वागत

नेपाल प्रफिट

२०८३ मंसिर ८, मंगलबार १२:१८

अयोध्याबाट जनकपुरधाम आइपुग्यो ‘सरयू कमला एक्सप्रेस’, तीर्थयात्रीलाई भव्य स्वागत

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट सोमबार दिउँसो प्रस्थान गरेको सरयू कमला एक्सप्रेस रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ । रेलमा सवार तीर्थयात्रीलाई जनकपुरधाममा नेपाल र भारतका राष्ट्रिय झण्डा बोकेका सरकारी प्रतिनिधि तथा सर्वसाधारणले भव्य स्वागत गरेका छन् ।

तीर्थयात्रीको स्वागतका लागि जनकपुरधामका स्थानीय बासिन्दा, सरकारी प्रतिनिधि तथा विभिन्न संघसंस्थाका व्यक्ति रेल्वे स्टेसन पुगेका थिए । उनीहरूले रेल र त्यसमा सवार तीर्थयात्रीलाई फूलमाला लगाएर स्वागत गरेका थिए ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहले सोमबार नयाँ दिल्लीबाट झण्डा देखाएर रेललाई बिदाइ गरेका थिए । त्यसपछि अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गरेको रेल मंगलबार बिहान यहाँ आइपुगेको हो ।

नेपाल-भारतबीचको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले जनकपुरधाम र अयोध्यालाई जोड्ने रेल सेवा सञ्चालन गरिएको हो । भगवान् रामको जन्मभूमि अयोध्या र माता जानकीको जन्मभूमि जनकपुरधामबीचको सम्बन्धलाई यस सेवाले थप प्रगाढ बनाउने विश्वास लिइएको छ ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार १७ डब्बा रहेको सरयू कमला एक्सप्रेसमा एक हजारभन्दा बढी तीर्थयात्री जनकपुरधाम आइपुगेका छन् । उनीहरूलाई रेल्वे स्टेसनका साथै विभिन्न स्थानमा स्वागत गरिएको उनले बताए ।

‘रेल्वे स्टेसनमा रेल र आउनुभएका तीर्थयात्रीलाई जनकपुरधामवासीसहित हामीले भव्य रूपमा स्वागत गरेका छौँ । त्यसका लागि विभिन्न प्रबन्ध मिलाउनुका साथै यहाँ सांस्कृतिक कार्यक्रमसमेत राखेका छौँ,’ पराजुलीले भने ।

उनका अनुसार स्वागत तथा सत्कारपछि तीर्थयात्रीले जानकी मन्दिरलगायत धार्मिक स्थलमा पूजाआजा तथा दर्शन गर्ने कार्यक्रम छ ।

जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले अयोध्याबाट आएका श्रद्धालुका लागि मन्दिरमा दर्शन तथा पूजाको व्यवस्था मिलाइएको बताए । मन्दिरमा उनीहरूलाई स्वागतसमेत गरिने उनको भनाइ छ ।

‘अयोध्याबाट आउनुहुने श्रद्धालुहरूलाई जानकी मन्दिरमा दर्शन तथा पूजाको व्यवस्थापनमा हामी जुटेका छौँ । उहाँहरूलाई स्वागत पनि गर्छौं,’ उनले भने ।

तीर्थयात्रीले जनकपुरधामका विभिन्न मन्दिर तथा धार्मिक स्थलको अवलोकन गरेपछि दिउँसो साढे १२ बजेसम्म रेल्वे स्टेसन फर्किनुपर्नेछ । स्टेसनमा उनीहरूलाई खाजा खुवाएर बिदाइ गर्ने कार्यक्रम रहेको पराजुलीले जानकारी दिए ।

उनका अनुसार रेल दिउँसो १ बजेसम्म अयोध्याका लागि फर्किने समयतालिका छ । सीमित समय भएकाले तीर्थयात्रीले करिब तीन घण्टाको अवधिमा जनकपुरधामका धार्मिक स्थलको अवलोकन गरी फर्किनुपर्नेछ ।

तीर्थयात्रीको आगमनलाई लक्षित गर्दै जनकपुरधाम रेल्वे स्टेसन तथा जानकी मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।