खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका महिलाले स्थानीय वनस्पतिको प्रयोग गरी साबुनलगायत नौ प्रकारका सरसफाइ सामग्री उत्पादन गर्न थालेका छन् । नगरपालिकाले प्रदान गरेको निःशुल्क सीपमूलक तालिमपछि महिलाहरू सामूहिक रूपमा उद्यममा जोडिएका हुन् ।
स्थानीयस्तरमा खेर गइरहेका घिउकुमारी, तितेपाती, पुदिना, तुलसीलगायत वनस्पतिबाट महिलाहरूले लुगा धुने साबुन, हर्बल साबुन, हात धुने झोल साबुन, एरियल, सामान्य सरफ, हर्पिक, कोलिन, लाइजोल र फिनेल उत्पादन गरिरहेका छन् ।
हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय महिलालाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यले गत वैशाखमा आधारभूत तालिम निःशुल्क उपलब्ध गराएको थियो । तालिममा सहभागी महिलाले सिकेको सीपलाई व्यावसायिक रूप दिँदै साबुनलगायत सरसफाइका सामग्री उत्पादन तथा बिक्री गर्न थालेका हुन् ।
तालिममा सहभागी स्थानीय महिला रेनुका चाम्लिङले उच्चस्तरको तालिमपछि लुगा धुने र मुख धुने साबुन उत्पादन गरी बिक्री गरिरहेको जानकारी दिइन् । उनले यसअघि नगरपालिकाले प्रदान गरेको अचार बनाउने तालिमबाट सिकेको सीप प्रयोग गर्दै अचार र साबुन दुवै उत्पादन गरेर आम्दानी गरिरहेकी छन् ।
तालिमबाट प्राप्त सीपलाई व्यवसायमा रूपान्तरण गर्न थालेका नौ जना महिलालाई नगरपालिकाले थप व्यावसायिक बनाउन एडभान्स तालिमसमेत प्रदान गरेको नगरपालिकाका उद्यम विकास सहजकर्ता सुरेश धामीले जानकारी दिए ।
स्थानीय महिलाले उत्पादन गरेका साबुन तथा सरसफाइका सामग्रीको बजार सुनिश्चित गर्न नगरपालिकाले आफ्ना कार्यालय र विद्यालयमा ती सामग्री अनिवार्य प्रयोग गर्न निर्देशन दिएको नगरप्रमुख विमला राईले बताइन् ।
‘उद्यमशील बन्न चाहने नागरिकलाई नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको छ । साबुन बनाउन सुरु गरेका स्थानीय महिलालाई ढुक्कले अगाडि बढ्न आग्रह गरेका छौँ,’ उनले भनिन्, ‘बजारीकरणका लागि कुनै चिन्ता लिनुपर्दैन । उद्यमीलाई आवश्यक पर्ने कच्चा पदार्थ ढुवानी गर्न नगरपालिकाले सहयोग गर्दै आएको छ ।’
नगरपालिकाबाट प्राप्त एडभान्स तालिमले उत्पादित साबुनको गुणस्तर सुधार र ब्रान्डिङलाई व्यवस्थित बनाउन सहयोग पुगेको उद्यमी महिलाको भनाइ छ । गुणस्तरीय उत्पादनसँगै उपभोक्ताको मागसमेत विस्तारै बढ्दै जाने उनीहरूको विश्वास छ । महिलाहरूले ‘हलेसी प्रगतिशील महिला लघु उद्यमी समूह’ गठन गरेर सामूहिक रूपमा उत्पादन सुरु गरेका हुन् ।
विश्वप्रसिद्ध धार्मिकस्थल हलेसी रहेको नगरपालिकामा दैनिक ठूलो संख्यामा भक्तजन तथा दर्शनार्थी आउने भएकाले उत्पादित सामग्रीको बजार विस्तार गर्न सहज हुने स्थानीय व्यवसायीको भनाइ छ । यसअघि बाहिरबाट आयात गरिएका सरसफाइका सामग्री प्रयोग गर्नुपर्ने अवस्थामा स्थानीय महिलाले उत्पादन गरेका सामग्री उपलब्ध हुन थालेपछि उपभोक्ता तथा व्यवसायीलाई समेत सहज भएको नगरप्रवक्ता कमल गिरीले जानकारी दिए । रासस