• Menu

मंसिर १६ मा उद्घाटन हुने दसौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, सुर्खेतमा रौनक

नेपाल प्रफिट

२०८३ मंसिर ६, आइतबार १२:२४

मंसिर १६ मा उद्घाटन हुने दसौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, सुर्खेतमा रौनक

सुर्खेत । बहुप्रतीक्षित दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता नजिकिएसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खेलकुद महाकुम्भको चहलपहल बढेको छ ।

प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न कर्णाली प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा विभिन्न व्यवस्थापन समिति तयारीमा जुटेका छन् । प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीसमेत प्रतियोगिताको तयारी, व्यवस्थापन र आवश्यक समन्वयका लागि विभिन्न बैठक तथा छलफलमा सक्रिय छन्।

प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुने तय भएको छ । यद्यपि, मुख्य खेलहरू मंसिर ८ गतेदेखि नै सुरु हुनेछन् । प्रतियोगिताको समापन मंसिर २७ गते सुर्खेतमै हुनेछ ।

प्रतियोगिता नजिकिएसँगै सुर्खेतका विभिन्न स्थानमा स्वागतद्वार निर्माण गर्न थालिएको छ भने बजार क्षेत्रमा प्रचारप्रसारका लागि माइकिङसमेत भइरहेको छ । विदेशमा रहेका खेलाडी स्वदेश फर्कन थालेका छन् भने कतिपय खेलाडी बन्द प्रशिक्षणमा जुटिसकेका छन् ।

मुख्यमन्त्री शाहीका अनुसार प्रतियोगिताका लागि आवश्यक खेल पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ । सामान्य मर्मतबाहेक अधिकांश खेलस्थल प्रतियोगिता सञ्चालनका लागि तयार रहेको उनले बताए । केही खेल सामग्री आइसकेका र केही आउने क्रममा रहेको उनको भनाइ छ ।

प्रतियोगिताको सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ । मुख्यमन्त्रीको अध्यक्षतामा बसेको सुरक्षा अधिकारीहरूको बैठकले सुरक्षा व्यवस्था थप मजबुत बनाउने र सीसीटीभी क्यामेरामार्फत निगरानी गर्ने निर्णय गरेको छ । प्रतियोगिताको सुरक्षाका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ ।

त्यस्तै, प्रतियोगितास्थल, मुख्य चोक तथा नगर क्षेत्रमा २०० भन्दा बढी सीसीटीभी क्यामेरा जडान गरिएको छ । प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, अतिथि तथा दर्शकको आवास व्यवस्थापनका लागि होटलमा पर्याप्त कोठाको व्यवस्था गरिएको जनाइएको छ ।

दसौँ राष्ट्रिय खेलकुद प्रचारप्रसार उपसमितिका संयोजक मोनालिसा खम्बुका अनुसार प्रतियोगितालाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरी तयारीका कामलाई तीव्रता दिइएको छ । राष्ट्रिय खेलकुद परिषद्को टोलीसमेत सुर्खेतमा खटिएको छ ।

३२ खेलमा ११ टोलीको सहभागिता

दसौँ राष्ट्रिय खेलकुदमा सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा ३२ खेलका ३८४ इभेन्ट्स समावेश गरिएका छन् । जसमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका खेल कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लामा सञ्चालन हुनेछन् । सुर्खेतमा मात्रै २३ खेल आयोजना हुनेछन् । नेपालगन्ज र बर्दियामा दुई–दुई तथा सल्यानमा दुई खेल सञ्चालन हुनेछन् भने दैलेख, कालीकोट र पश्चिम रुकुममा एक-एक खेल आयोजना गरिनेछ ।

प्रतियोगितामा प्रत्येक टोलीबाट ३९४ महिला र ३४६ पुरुष गरी कुल ७४० खेलाडी सहभागी हुनेछन् । त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक रहनेछन् ।

प्रतियोगिताअन्तर्गत उद्घाटनअघि नै १० खेल सञ्चालन हुनेछन् । खेलाडीलाई पदक जितेपछि नगद पुरस्कारको व्यवस्था पनि गरिएको छ । व्यक्तिगत स्पर्धामा स्वर्ण पदक विजेताले २० हजार, रजत विजेताले १५ हजार र कास्य पदक विजेताले आठ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, टोलीगत स्पर्धामा स्वर्ण विजेताले १५ हजार, रजत विजेताले १० हजार र कास्य विजेताले आठ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताका लागि २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक परिचालन गरिनेछ । त्यस्तै, ३४९ स्थानीय सहयोगी र खेल संघका ९६ प्रतिनिधि पनि प्रतियोगितामा खटिनेछन् ।

लुम्बिनीमा चार खेल सञ्चालन हुने

दसौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुनेछन् । बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा खोखो र टेनिस प्रतियोगिता आयोजना गरिनेछ ।

साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दका अनुसार खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार मर्मत तथा व्यवस्थापनको काम सम्पन्न भइसकेको छ ।

नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा पौडी र सुटिङ प्रतियोगिता सञ्चालन हुनेछ भने बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित भूरीगाउँमा खोखो र गुलरियामा टेनिस खेल आयोजना गरिनेछ ।

यसअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ साल कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको थियो । त्यसपछि आयोजना हुन लागेको दसौँ संस्करणलाई कर्णाली प्रदेशले आफ्नो खेलकुद क्षमता, पूर्वाधार र पर्यटन प्रवर्धनको अवसरका रूपमा समेत लिएको छ ।