काठमाडौं । अल्पकालीन लगानीकर्ताले ‘प्रफिट बुक’ गरेपछि सोमबार सेयर बजार परिसूचक १७ अंकले घटेको छ । असार १७ यता २२० अंकले बढेको बजारबाट अल्पकालीन लगानीकर्ताले बेचेर नाफा लिन खोजेपछि बिक्री चाप बढेका कारण नेप्सेमा दोस्रो ‘करेक्सन’ आएको हो ।
यसअघि १०३.८८ अंक बढेपछि असार २४ गते पनि नेप्सेमा ४.६२ अंकको करेक्सन आएको थियो । त्यसयताका चार दिनमै १२१.२४ अंकले बढेको नेप्सेमा आज १७.१८ अंकको करेक्सन आएको छ ।
हिजो २२५७ अंक पार गरेको नेप्से करेक्सनसँगै आज २२४०.४१ अंकमा ओर्लिएको छ । आज जलविद्युत, लगानी, उत्पादनमूलक र म्युचुअल फन्डबाहेकका सबै समूह राताम्य भएका छन् । घटेको बजारमा पनि ५६ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
आज कारोबार रकम उच्च भएको छ । दुई वर्षपछि आज ८ अर्ब ७३ करोड १४ लाख रुपैयाँबराबरको कारोबार भएको छ । आइतबार पनि ७ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको थियो ।