काठमाडौं । बैंक तथा वित्तीय संस्थाले एक महिनामा १६ प्रतिशत ‘प्रफिट’ बढाएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा ५३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले ११ महिनामा ६१ अर्ब ९५ करोड नाफा गरेका हुन् ।
वैशाखसम्मको तुलनामा जेठसम्मको नाफा १६.४७ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो नाफा १६.०५ प्रतिशतले नै कम हो । गत वर्ष जेठसम्ममा बैंक वित्तीय संस्थाले ७३ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।
एक महिनाको अवधिमा वाणिज्य बैंकहरुले मात्र पनि १६.१४ प्रतिशतले नाफा बढाएका छन् । वैशाखसम्ममा ४८ अर्ब ६० करोड नाफा गरेका वाणिज्य बैंकहरुले जेठसम्ममा ५६ अर्ब ४५ करोड नाफा कमाएका हुन् ।
११ महिनामा सबैभन्दा धेरै नाफा नविल बैंकले कमाएको छ । नविलले साउनदेखि जेठसम्ममा ६ अर्ब ३३ करोड नाफा कमाएको छ । दोस्रोमा रहेको ग्लोबल आईएमई बैंकले ११ महिनामा ५ अर्ब ९ करोड कमाएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
समीक्षा अवधिमा सबैभन्दा कम १ अर्ब ७ करोड नाफा नेपाल बैंकले गरेको छ । एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । गत वर्ष ११ महिनामा ४ अर्ब ६३ करोड नाफा गरेको एनआईसी एसियाले चालु आवको सोही अवधिमा २ अर्ब २४ करोड मात्र नाफा कमाएको छ ।
