• Menu

चार ठूला सिँचाइ आयोजनामै ५८ प्रतिशत खर्च, महाकाली आयोजनाको भौतिक प्रगति ९७ प्रतिशत नाघ्यो

नेपाल प्रफिट

२०८३ कात्तिक १९, बिहीबार ११:११

चार ठूला सिँचाइ आयोजनामै ५८ प्रतिशत खर्च, महाकाली आयोजनाको भौतिक प्रगति ९७ प्रतिशत नाघ्यो

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमै सिँचाइ आयोजनाको बजेट कार्यान्वयन प्रगति उत्साहजनक रहेको पाइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत पहिलो त्रैमासिकमा २३९.३ करोड खर्च भएको छ ।

त्यसमध्ये ८८ प्रतिशत पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको विभागका महानिर्देशक दिनेश रजौरियाले बताए ।

उनका अनुसार महाकाली सिँचाइ आयोजना (कञ्चनपुर)ले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत प्रगति हासिल गरेको छ । आयोजनाले यस अवधिमा ४३.७ करोड खर्च गरेको छ । जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो ।

महानिर्देशक रजौरियाले त्रैमासिक लक्ष्यको तुलनामा बबई सिँचाइ आयोजनाले ८१.८ प्रतिशत, सिक्टा सिँचाइ आयोजनाले ८०.२ प्रतिशत र रानीजमरा कुलरिया सिँचाइ आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति गरेको बताए ।

उनले भने, ‘यी चार ठूला आयोजनाले मात्र १३९ करोड खर्च गरेका छन्, जुन विभागको कुल खर्चको ५८ प्रतिशत हो ।’

विभागका अनुसार प्रगन्ना-बड्कापथ (दाङ)ले ८८.२ प्रतिशत प्रगति गरेको छ । गहिरो ट्युबवेल सिँचाइ आयोजना र सिँचाइ संस्थागत विकास कार्यक्रमले शतप्रतिशत लक्ष्य पूरा गरेका छन् ।

महानिर्देशक रजौरियाले भने, ‘तयारी पुगेका आयोजनामा बजेट र काम दुवै अघि बढेका छन् । दोस्रो त्रैमासिकमा ढिलो सुरु भएका आयोजनालाई पनि यही गतिमा ल्याउनु हाम्रो प्राथमिकता हुनेछ ।’ रासस