बाजुरा । बाजुरा जिल्लामा पछिल्लो समय सिँचाइ सुविधा विस्तार हुँदै गएको छ । गत वर्षसम्म जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये करिब ८० प्रतिशतमा खेती हुँदै आएकामा यस वर्ष तीन प्रतिशतले सिँचाइ सुविधा वृद्धि भएको छ ।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार गत आव २०८२/८३ मा तीन प्रतिशत वृद्धि हुँदा यहाँ २३ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको हो । यहाँका धेरैजसो किसान अझै पनि आकासे पानीको भरमा खेती गर्न बाध्य छन् । विशेषगरी वर्षायाममा मात्रै खेती गर्न सकिने र हिउँदमा जमिन बाँझै राख्नुपर्ने अवस्था ग्रामीण भेगका किसानहरुले भोग्दै आएका छन् । सिँचाइ सुविधा नहुँदा पर्याप्त जमिन हुँदाहुँदै पनि किसानले अपेक्षित उत्पादन लिन सकिरहेका छैनन् ।
जिल्लामा २८ हजार १३५ हेक्टर खेतीयोग्य जमिनमध्ये २६ हजार १६० हेक्टर क्षेत्रफल जमिनमा खेती हुँदै आइरहेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टका अनुसार जिल्लामा २० प्रतिशत जमिनमा सिँचाइ पुगेकामा गत वर्ष तीन प्रतिशतले वृद्धि भएको छ । ‘जिल्लाको धेरैजसो भूभाग भिरालो हुँदा पाखो जमिनमा खेती गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘पछिल्लो समय सिँचाइ पोखरी तथा कुलो निर्माण हुन थालेपछि सिञ्चित जमिनसमेत बढ्दै गएको छ ।’
प्रमुख विष्टले गत आर्थिक वर्षमा कार्यालयबाट साना सिँचाइ कार्यक्रमअन्तर्गत ६१ वटा पोखरी तथा कुलो निर्माण गरिएको जानकारी दिए । उनका अनुसार चालु आवमा पनि उक्त कार्यक्रममार्फत सिँचाइ सुविधा विस्तारका लागि करिब ५५ लाख सुदूरपश्चिम प्रदेश सरकारबाट विनियोजन भएको छ ।
यहाँका ९ वटा स्थानीय तहमध्ये खेत क्षेत्र बढी भएका बुढीगङ्गा, बडीमालिका नगरपालिका, खप्तड छेडेदह गाउँपालिका र बुढीनन्दा नगरपालिकामा सबैभन्दा बढी सिँचाइ सुविधा पुगेको कार्यालयले जनाएको छ । ‘सिँचाइ सुविधा नपुगेको पाखो जमिनमा आकासे पानीको भरमा खेती हुँदै आएको छ । जिल्लामा सिँचाइ सुविधा विस्तारको गति अझै पर्याप्त हुनसकेको छैन । खेतीयोग्य जमिनको ठूलो हिस्सा अझै सिँचाइ सुविधाबाट वञ्चित छ,’ प्रमुख विष्टले भने ।
भौगोलिक विकटता, बजेटको अभाव, पानीका स्रोतको सीमितता तथा निर्माण भएका सिँचाइ आयोजनाको नियमित मर्मतसम्भार नहुँदा समस्या भइरहेको किसानहरू बताउँछन् ।
जलस्रोत तथा सिँचाइ विकास सव डिभिजन कार्यालय बाजुराका अनुसार जिल्लामा गत आर्थिक वर्षमा १०६ कुलो र ६०० मिटर तटबन्धन निर्माण गरिएको थियो । पछिल्लो समय सिँचाइका संरचना विस्तार हुन थालेपछि केही क्षेत्रमा बाह्रै महिना खेती गर्न सकिने अवस्था सिर्जना हुँदै गएको छ ।
सिँचाइ सुविधा पुगेका क्षेत्रमा तरकारी, धान, गहुँ, आलु तथा अन्य मौसमी र बेमौसमी बाली लगाउन किसानलाई सहज भएको बडीमालिका-८ का स्थानीय किसान लालबहादुर ऐडीले बताए । उनले सिँचाइ सुविधा हुँदा यसले खाद्यान्न उत्पादन बढाउनुका साथै किसानको आयआर्जनमा समेत सहयोग पुग्ने बताए ।
विशेषगरी हिमाली तथा पहाडी भूगोलका कारण सिँचाइका संरचना निर्माण गर्न कठिनाइ हुने गरेको छ । कतिपय ठाउँमा पानीको स्रोत भए पनि खेतसम्म पानी पुर्याउन आवश्यक संरचना नहुँदा किसानले समस्या भोगिरहेका छन् । निर्माण भएका कतिपय कुलो तथा नहर पनि बाढीपहिरोका कारण क्षतिग्रस्त हुने गरेको खप्तड छेडेदह-३ का किसान वीरबहादुर बुढाले बताए ।
जिल्लामा कृषि उत्पादन वृद्धि गर्ने र किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले विभिन्न सिँचाइ आयोजना निर्माण तथा विस्तारका काम भइरहेका छन् । स्थानीय तहसँगै संघ, प्रदेश सरकार तथा सम्बन्धित निकायमार्फत साना सिँचाइ कुलो, नहर, पाइप लाइन तथा अन्य सिँचाइ संरचना निर्माण र मर्मतका पर्याप्त बजेट विनियोजन गरेर दीर्घकालीन र परिमाणमुखी काम गर्न सके त्यसको प्रत्यक्ष लाभ यहाँका किसानलाई हुने देखिन्छ । रासस