काठमाडौं। सर्वोच्च अदालतले संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गरेको छ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित सर्वोच्च अदालतका न्यायाधीश सम्मिलित पूर्ण (फूलकोर्ट) बैठकले संविधान र कानुनको सर्वोच्चता आफ्नो अटल आस्था र प्रतिबद्धता रहेको स्पष्ट पारेको हो।
बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार क्षेत्रीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिबद्धता हो। यसमा हामी अडिग र स्पष्ट छौँ। संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गर्दछौँ।’
बैठकले सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयका सम्बन्धमा पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र ढङ्गबाट संविधान तथा कानुनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
त्यस्तै, सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा संविधान र कानुनबमोजिम हुने छानबिन तथा अनुसन्धानमा कानुनले तोकेको जवाफदेहिता निर्वाह गर्न र सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
न्यायपालिका जनताको आस्था र विश्वासमा अडिएको संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन तथा प्रसारण गर्दा आमजनता र सेवाग्राहीमा भ्रम तथा नकारात्मक असर नपर्ने गरी जिम्मेवार भूमिका निर्वाह गर्न पनि फूलकोर्टले आग्रह गरेको छ।
छानबिनको निष्कर्ष प्राप्त नहुँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न बैठकले सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
यसैगरी, प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई नियमित रूपमा न्यायिक कार्यमा सक्रिय रहन सबै अदालतमा कार्यरत न्यायाधीश तथा कर्मचारीलाई पूर्ण बैठकले आग्रह गरेको छ।
केही दिनअघि प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै सर्वोच्च अदालतले आफ्नो धारणा लिखित रूपमा सार्वजनिक गरेको हो।