काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जीज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्। उनले राजदूत नियुक्तिसम्बन्धी संसदीय सुनुवाइ तथा नियुक्ति प्रक्रियाबाट नाम फिर्ता लिएका हुन्।
संघीय संसद्को संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकमा सभापति बोधनारायण श्रेष्ठले थापाले समितिलाई सम्बोधन गरी पठाएको पत्रबारे जानकारी गराएका थिए।
जापानका लागि राजदूत नियुक्त भएर जाँदा स्वार्थ बाझिने विषय उठेपछि थापाले आफ्नो नाम फिर्ता लिएको बताइएको छ।
गत असोज २८ गते भएको संसदीय सुनुवाइका क्रममा समिति सदस्यहरूले थापाको सम्भावित नियुक्तिसँग जोडिएको स्वार्थ बाझिने विषयमा प्रश्न उठाएका थिए।
समितिका सभापति श्रेष्ठले उच्च नैतिकता प्रदर्शन गर्दै नाम फिर्ता लिएको भन्दै समितिका तर्फबाट थापालाई धन्यवाद दिएका छन्।