• Menu

भारतको पूर्वी तटतर्फ ‘मुरासु’ चक्रवात अघि बढ्यो, आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी

नेपाल प्रफिट

२०८३ कात्तिक १६, सोमबार १५:३१

भारतको पूर्वी तटतर्फ ‘मुरासु’ चक्रवात अघि बढ्यो, आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी

एजेन्सी । एक साताभन्दा कम अवधिमा भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात अघि बढेपछि आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी दिइएको छ। भारतको मौसम विज्ञान विभागका अनुसार ‘मुरासु’ नामक चक्रवात सोमबार मध्यरात वा मंगलबार बिहान तटीय क्षेत्रमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।

मौसम विभागका अनुसार चक्रवातले दक्षिणी आन्ध्र प्रदेशको तट पार गर्दा प्रतिघण्टा १०० देखि ११० किलोमिटर र अधिकतम १२० किलोमिटरसम्मको गतिमा हावा चल्न सक्छ। आँधी नेल्लोर र नरसापुरबीच, ओङ्गोल सहरनजिकै तटमा प्रवेश गर्ने अनुमान गरिएको छ।

मुरासु अघिल्लो चक्रवातभन्दा कमजोर हुने अपेक्षा गरिए पनि यसले पहिले नै प्रभावित क्षेत्रमा थप भारी वर्षा गराउन सक्ने जनाइएको छ। गत बुधबार आएको ‘अर्नब’ चक्रवातले आन्ध्र प्रदेशको तटीय क्षेत्रमा भारी वर्षा गराउँदा कम्तीमा तीन जनाको मृत्यु भएको थियो।

मौसम विभागले तीव्र हावाले कमजोर घरमा क्षति पुर्‍याउन, छाना उडाउन र रूख ढाल्न सक्ने चेतावनी दिएको छ। यसबाट खेतमा रहेका बाली, फलफूलका बगैँचा तथा अन्य कृषि उत्पादनमा समेत क्षति पुग्न सक्छ।

बंगालको खाडी र उत्तरी हिन्द महासागर क्षेत्रमा चक्रवात नियमित जोखिमका रूपमा रहने गरेका छन्। उत्तरी अटलान्टिकमा यस्ता आँधीलाई हरिकेन र प्रशान्त महासागरमा टाइफुन भनिन्छ। एएफपीका अनुसार पछिल्लो चक्रवातको प्रभावबाट भारतको पूर्वी तटीय क्षेत्रका बासिन्दा फेरि प्रभावित हुन सक्ने देखिएको छ। रासस