• Menu

बैंकिङ प्रणालीको कुल निक्षेपको ८ प्रतिशत ग्लोबल आइएमई बैंकमा, ५ खर्ब नाघ्यो निक्षेप

नेपाल प्रफिट

२०८१ असार २७, २०:४८

बैंकिङ प्रणालीको कुल निक्षेपको ८ प्रतिशत ग्लोबल आइएमई बैंकमा, ५ खर्ब नाघ्यो निक्षेप

काठमाडौं । ग्लोबल आइएमई बैंकको निक्षेप समग्र बैंकिङ प्रणालीको करिब ८ प्रतिशत पुगेको छ । बैंकको निक्षेप बुधबार ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यो रकम बैंकिङ प्रणालीको कुल निक्षेप ६४ खर्ब ३३ अर्बको ७.७९ प्रतिशत हो ।

यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्रान्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई उजागर गरेको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ छ । बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरुमा निक्षेप बढेको हो ।

ग्लोबल आइएमई बैंक निक्षेपका साथै धेरै सूचकमा अन्य बैंक तथा वित्तीय संस्थाहरुभन्दा अगाडि छ । वाणिज्य बैंकहरुको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आइएमई बैंकको निक्षेपतर्फको बजार हिस्सा ८.८३ प्रतिशत हाराहारी छ ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले ग्राहक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै ग्लोबल आइएमई बैंकको ५ खर्ब रुपैयाँभन्दा बढी निक्षेप हुने विषय यस बैंकको मात्र सफलताको प्रतिविम्ब नभएर नेपालको बैंकिङ क्षेत्रको बढ्दो विस्तार र गतिशीलताको संकेत रहेको बताए ।

‘निक्षेप रकम ५ खर्ब रुपैयाँ पुग्नु हाम्रा लागि एक उल्लेखनीय उपलब्धि हो । यो उपलब्धि हामीले उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै हाम्रा ग्राहकसँग सुमधुर सम्बन्ध स्थापना गर्न सफल रहेको प्रमाण हो,’ उनले भने ।

यसले भविष्यमा बैंकिङ क्षेत्रमा थप नयाँ-नयाँ प्रविधि भित्र्याउँदै सबैका लागि उत्कृष्ट र विश्वासनीय बैंकिङ सेवा प्रदान गर्न थप प्रेरणा मिल्ने उनले बताए । ‘यो उपलब्धिलाई हाम्रो बैंकको मात्र नभई समग्र नेपाली बैंकिङ क्षेत्रको उपलब्धिको रुपमा लिएका छौँ,’ सीईओ बज्राचार्यले भने ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका ११ सयभन्दा बढी सेवा केन्द्र, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय छन् ।

आधा करोड हाराहारी ग्राहकलाई सेवा प्रदान गर्दै आएको ग्लोबल आइएमई बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत अन्य देशबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।