काठमाडौं । एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म १५ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य नाफा यस वर्ष थप ९ अर्ब १५ करोड रुपैयाँले घटेको हो ।
बैंकको वितरणयोग्य नाफामा ठूलो गिरावट आए पनि खुद नाफा भने सामान्य बढेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १२ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको १२ करोड २१ लाख रुपैयाँको तुलनामा ४.३२ प्रतिशतले बढी हो ।
बैंकको इम्पेरमेन्ट चार्ज घटेपछि खुद नाफामा वृद्धि देखिएको हो । गत वर्ष एक अर्ब १८ करोड रुपैयाँ रहेको चार्ज यस वर्ष करिब २२ प्रतिशतले घटेर ९२ करोड ९४ लाख रुपैयाँमा झरेको छ । यद्यपि, बैंकको सञ्चालन नाफा भने १६.५ प्रतिशतले घटेको छ ।
निष्क्रिय कर्जा अनुपात ९.८१ प्रतिशत
बैंकको निष्क्रिय कर्जा अनुपातमा पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६.९९ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म बढेर ९.८१ प्रतिशत पुगेको छ ।
यस अवधिमा बैंकले तीन खर्ब ४१ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ९१ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ अर्ब २१ करोड ६७ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी तीन रुपैयाँ ३५ पैसा र प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ५३ पैसा रहेको छ ।
खुद नाफामा सामान्य सुधार देखिए पनि वितरणयोग्य नाफा ठूलो मात्रामा ऋणात्मक रहनु र निष्क्रिय कर्जा अनुपात बढ्नु बैंकका लागि चुनौतीका रूपमा देखिएको छ ।