• Menu

महँगी र सार्वजनिक सेवालाई लिएर युरोपभर प्रदर्शन, फ्रान्स, जर्मनी र इटालीसहित धेरै देशमा लाखौँ सडकमा

नेपाल प्रफिट

२०८३ कात्तिक १५, आइतबार १४:०२

महँगी र सार्वजनिक सेवालाई लिएर युरोपभर प्रदर्शन, फ्रान्स, जर्मनी र इटालीसहित धेरै देशमा लाखौँ सडकमा

एजेन्सी । जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र राजनीतिक विवादलाई लिएर शनिबार युरोपका विभिन्न प्रमुख सहरमा विरोध प्रदर्शन भएका छन् । सामाजिक सञ्जालमार्फत प्रदर्शनका लागि आह्वान गरिएपछि विभिन्न देशमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो ।

फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार देशभर भएका प्रदर्शनमा करिब तीन लाख २० हजार मानिस सहभागी भए । तीमध्ये ७० हजार पेरिसमा थिए । आयोजकहरूले भने देशभर पाँच लाख र राजधानीमा दुई लाख मानिस सहभागी भएको दाबी गरेका छन् ।

प्रदर्शनलाई ध्यानमा राख्दै देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । अधिकांश प्रदर्शन शान्तिपूर्ण भए पनि केही स्थानमा प्रहरीसँग झडप भएको थियो । फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार प्रदर्शनका क्रममा ४२२ जना पक्राउ परेका छन् ।

जर्मनीका ३० भन्दा बढी सहरमा भएका प्रदर्शनमा सार्वजनिक सेवामा लगानी बढाउन, महँगी नियन्त्रण गर्न र अनिवार्य सैन्य सेवाको व्यवस्था हटाउन माग गरिएको थियो । आयोजकहरूका अनुसार १२ सहरको तथ्यांकमा मात्रै ६८ हजारभन्दा बढी सहभागी भएका थिए । फ्र्यांकफर्टमा प्रहरी अधिकारी घाइते भएका थिए भने ह्याम्बर्गमा अवरोधका लागि राखिएका बारमा आगजनी गरिएको थियो । ब्रेमेनमा पनि प्रहरीमाथि आक्रमण भएको जर्मन समाचार संस्था डीपीएले जनाएको छ ।

इटालीमा सार्वजनिक सेवा र जीवनयापनको खर्चलाई लिएर शुक्रबार ६० भन्दा बढी सहरमा प्रदर्शन भएका थिए । युनियनको अनुमानमा १५ लाख मानिस सहभागी भए पनि गृह मन्त्रालयले सहभागी संख्या दुई लाख ५५ हजार रहेको जनाएको छ । शनिबार पनि रोमस्थित कोलोसियम नजिक प्रदर्शनकारी भेला भएका थिए ।

पोर्चुगलको लिस्बन र पोर्टोमा आवासको समस्या समाधान गर्न माग गर्दै एक हजारभन्दा बढी मानिसले प्रदर्शन गरेका थिए । लिस्बनमा प्रदर्शनकारीले रोसियो स्क्वायरमा रात बिताउने तयारी गरेका थिए ।

यसैबीच, अल्बानियाको राजधानी तिरानामा प्रधानमन्त्री एदी रामाको राजीनामालगायत माग राखेर भइरहेको प्रदर्शन शनिबार १९औँ दिन पनि जारी रह्यो । प्रदर्शनका क्रममा प्रहरीमाथि पेट्रोल बम र ढुंगा प्रहार भएपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो ।

पोल्याण्डको वार्सामा संवैधानिक न्यायाधिकरणको संरचना र नेतृत्वलाई लिएर प्रदर्शन भएको थियो । यता नेदरल्याण्ड्सको द हेगमा सामाजिक सञ्जालबाट भएको आह्वानपछि भेला भएका भीडलाई प्रहरीले तितरबितर पारेको थियो । प्रहरीले दिनभर ३४ जनालाई पक्राउ गरेको जनाएको छ ।

स्पेनको म्याड्रिड, बार्सिलोना र भ्यालेन्सियामा पनि सम्भावित अशान्ति रोक्न सुरक्षा व्यवस्था कडा पारिएको थियो । अघिल्लो सप्ताहन्त बार्सिलोनामा भएको झडपमा १५ प्रहरी अधिकारी घाइते भएका र १२८ जना पक्राउ परेका थिए । स्पेनी समाचार संस्था ईएफईका अनुसार अनलाइनमार्फत हिंसा भड्काएको आशंकामा प्रहरीले देशभर १० जनालाई पक्राउ गरेको थियो । रासस