काठमाडौं । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना, बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना, बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्याएका छन् ।
सिक्टा सिँचाइ आयोजनाले ५४ करोड ३ लाख लागत अनुमानका चारवटा बोलपत्र आह्वान गरिसकेको छ । आयोजनाले पुस मसान्तसम्म २ अर्ब ४८ करोड ३० लाख बराबरका थप १७ वटा बोलपत्र आह्वान गर्ने लक्ष्य राखेको छ । सोही अवधिमा थप ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने योजना छ ।
बबई सिँचाइ आयोजनाले पनि पुस मसान्तसम्म थप ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिएको विभागका सूचना अधिकारी रामप्रसाद पौडेलले जानकारी दिए ।
रानी जमरा कुलरियाको भौतिक प्रगति १५ प्रतिशत
कैलालीको टीकापुरस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाले १ अर्ब ३३ करोड ३५ लाख लागत अनुमानका ६ वटा बोलपत्र आह्वान गरेको छ । आयोजनाको भौतिक प्रगति साउनमा आठ प्रतिशत रहेकामा भदौ मसान्तसम्म बढेर १५ प्रतिशत पुगेको छ ।
त्यस्तै, आयोजनाको वित्तीय प्रगति पनि ५.२५ प्रतिशतबाट बढेर ११.४३ प्रतिशत पुगेको विभागले जनाएको छ । आयोजनाले पुस मसान्तसम्म २ अर्ब ३० करोड बराबरका १२ वटा बोलपत्र आह्वान गर्ने लक्ष्य राखेको छ । साथै, सो अवधिमा १.५ किलोमिटर तटबन्ध निर्माण र १६० हेक्टर जग्गा उकास गर्ने योजना छ ।
भेरी बबईको प्रगति ३.४ प्रतिशत
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले भदौ मसान्तसम्म ३.४ प्रतिशत भौतिक र ३.४९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आयोजनाले पुस मसान्तसम्म ६१ करोड बराबरका चारवटा बोलपत्र आह्वान गर्ने योजना बनाएको छ ।
त्यसैगरी, सुनकोशी मरिन डाइभर्सन आयोजनाले पुस मसान्तसम्म ९७ हेक्टर जमिनमा लिफ्ट सिँचाइ सुविधा विस्तार गर्ने र ६.१८ किलोमिटर तटबन्ध निर्माण गर्ने लक्ष्य राखेको छ ।
राष्ट्रिय गौरवका यी आयोजनामार्फत सिँचाइ सुविधा विस्तार, तटबन्ध निर्माण तथा जग्गा उकासका काम अघि बढेसँगै कृषि उत्पादनका लागि नयाँ क्षेत्र उपलब्ध हुने अपेक्षा गरिएको छ ।