• Menu

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सानबीच त्रिपक्षीय समझदारी, जापान पढ्न जाने विद्यार्थीलाई शैक्षिक कर्जा

नेपाल प्रफिट

२०८१ असार २६, बुधबार २१:०५

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सानबीच त्रिपक्षीय समझदारी, जापान पढ्न जाने विद्यार्थीलाई शैक्षिक कर्जा

काठमाडौं । ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल तथा जाल्सानका अध्यक्ष रमेश देवकोटाले हस्ताक्षर गरेका छन् ।

जापानमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो । बैंकले जाल्सानबाट सिफारिस भएका विद्यार्थीलाई जापानका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षाका निमित्त आवश्यक शैक्षिक कर्जा प्रवाह गर्नेछ ।

बैंकले प्रदान गर्ने उक्त शैक्षिक कर्जाले जापान जान इच्छुक विद्यार्थीलाई वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको छ । जाल्सानमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात् बैंकले शैक्षिक कर्जा प्रवाह गर्नेछ ।

यसैगरी, आइएमई लिमिटेडले उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीको कलेज शुल्क, भिषा शुल्कलगायतका भुक्तानीका लागि विद्यार्थीलाई बैंक तथा जाल्सानसँगको समन्वयमा सहजता प्रदान गर्नेछ । जापान गएपश्चात् विद्यार्थीले जापानबाट आफ्नो देशमा आइएमईबाटै सरलताका साथ पैसा पठाउन सक्नेछन् ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्र छन् ।

ग्लोबल आइएमई बैंक सबैका लागि बैंकिङ सेवा प्रदान गर्ने बैंक हो, जसले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत ४८ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।