गुल्मी । बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप बढेको छ ।
दसैँ मनाउन स्थायी घर गएका नागरिकले त्यही मौकामा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रलगायत सेवा लिन जिल्ला प्रशासन कार्यालय पुगेका कारण त्यहाँ सेवाग्राहीको भीड लागेको हो ।
सेवाग्राहीको चाप बढेपछि उक्त कार्यालयले जिल्ला निर्वाचन कार्यालयबाट थप कर्मचारी झिकाएर सेवा प्रवाह गरिरहेको प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबार मात्रै १७० जनाले नागरिकता, २१० जनाले राष्ट्रिय परिचयपत्र, ९२ जनाले राहदानी तथा १७ जनाले नाबालक परिचयपत्र बनाएका छन् ।
सेवाग्राहीको भीड अझै बढेमा जिल्ला समन्वय समितिबाट समेत थप कर्मचारी बोलाएर सेवा प्रवाह गरिने उनले बताए ।
दसैँको बिदामा घर गएका अधिकांश व्यक्ति चाडपर्वपछि आफ्नो कर्मथलो फर्कने क्रममा सदरमुकाम आई नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा अन्य सिफारिस र कागजात बनाउने सेवाग्राहीको संख्या बढेको प्रशासकीय अधिकृत नारायण घर्तीले बताए ।
सेवाग्राहीको चाप बढेपछि कार्यालयले सेवाप्रवाहलाई व्यवस्थित बनाउन कर्मचारीलाई कार्यालय समयपछि समेत खटाउँदै आएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए ।
सेवाग्राहीको सहजताका लागि कार्यालय परिसरमै बसेर प्रशासकीय अधिकृतले सेवा प्रवाह तथा सहजीकरण गर्दै आएका छन् । कार्यालयले कतिपय फाँटमा सेवाग्राहीले एकअर्काको पालो नमिचुन् भन्ने उद्देश्यले टोकन प्रणालीसमेत लागू गरेको छ ।
जिल्ला सदरमुकाममा यस बेला सेवाग्राहीको भीडभाड हुने भएका कारणले कतिपय सेवाग्राही अघिल्लो दिन नै सदरमुकाम तम्घास आएर बास बस्ने र भोलिपल्ट बिहानै कार्यालयमा लाइनमा बस्ने गरेका पाइएको छ ।
जिल्ला प्रशासनमा जनजाति प्रमाणित, पेन्सन, संस्था नवीकरण तथा अभिलेख प्रमाणितलगायत सेवा लिन आउने सेवाग्राहीको चाप बढेको प्रशासकीय अधिकृत कमल सेन ओलीले जानकारी दिए ।
जिल्लाका अन्य सरकारी कार्यालयको तुलनामा अहिले जिल्ला प्रशासनमा सेवाग्राहीको चाप बढी छ । केही दिनपछि अहिलेको सेवाग्राहीको चाप क्रमशः घट्दै जाने कार्यालयले जनाएको छ । रासस