काठमाडौं । विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादसीमा पनि टीका र जमरा लगाएर दसैँ मनाइँदैछ ।
नवदुर्गाको प्रसादका रूपमा आज पनि मान्यजनका हातबाट टीका र जमरा लगाएर बडादसैँ मनाइएको छ । विजया दशमीमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मान्यजनहरुबाट आशीर्वाद लिने गरिन्छ ।
गत बुधबार बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी हो । त्यसदिन टीका थाप्न नभ्याएका तथा अन्यत्र आफन्त एवं मान्यजनकहाँ जानुपर्नेहरुले बिहीबार एकादशी र आज पनि आफन्त तथा मान्यजनकहाँ पुगेर विजयादशमीको टीका थापिरहेका छन् ।
बडादसैँको टीकाको मुख्य दिन बुधबार भए पनि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट नवदुर्गा भवानीको प्रसादका रूपमा टीका र जमरा लगाउने र दसैँ मनाउने प्रचलन रहिआएको छ ।
विजयादशमीको तेस्रो दिन आज सर्वसाधारणको चहलपहल काठमाडौं उपत्यकामा केही बढेको देखिएको छ । दसैँमा सुनसान रहेको काठमाडौं उपत्यकामा आफन्त र मान्यजनकहाँ टीका लगाएर फर्कनेहरुको संख्या बढेसँगै चहलपहल बढेको देखिन्छ ।
काठमाडौंबाट लामो तथा छोटो दूरीका सवारीसाधन हिजोका तुलनामा आज बढी नै सञ्चालन भएका छन् । यसबाट नागरिकलाई टीका थाप्न जानका लागि पनि सहज भएको छ ।
बाहिरबाट काठमाडौं भित्रिने सवारीसाधनहरु बढेकाले सडकमा सवारी र सर्वसाधारणको चहलपहल बढेको देखिएको हो । रासस