• Menu

दसैँको टीका लगाउँदा कुन दिशा फर्कने ? यस्तो छ धार्मिक मान्यता

नेपाल प्रफिट

२०८३ कात्तिक ४, बुधबार ०७:३४

दसैँको टीका लगाउँदा कुन दिशा फर्कने ? यस्तो छ धार्मिक मान्यता

काठमाडौं । बडादशैंको मुख्य दिन आज नेपालीहरूले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक जमरा ग्रहण गर्दैछन्। विजयादशमीका अवसरमा परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिने परम्परा रहिआएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउने कार्य सुरु गर्न सकिन्छ। समितिले विशेष साइतमा टीका लगाउन चाहनेहरूका लागि बिहान १० बजेर २६ मिनेटको समय उत्तम रहेको जनाएको छ।

टीका लगाउँदा कुन दिशातर्फ फर्किने?

समितिका अनुसार टीका थाप्ने व्यक्ति पश्चिमतर्फ र टीका लगाइदिने व्यक्ति पूर्वतर्फ फर्किनुपर्ने धार्मिक मान्यता छ। यद्यपि, कतिपय परिवारमा चन्द्रमाको अवस्थालाई समेत ध्यान दिएर टीका लगाउने दिशा निर्धारण गर्ने प्रचलन रहेको छ।

दशैंमा दक्षिण दिशातर्फ फर्किएर टीका लगाउने चलन भने नरहेको बताइन्छ। दक्षिण दिशा मुख्यतः पितृकर्मसँग सम्बन्धित भएकाले टीका लगाउँदा अन्य दिशाको व्यवस्था अपनाउने धार्मिक परम्परा छ।

देवी विसर्जनपछि टीकाजमरा लगाउने परम्परा

धार्मिक विधिअनुसार देवी विसर्जन गरेपछि दशैंको टीका लगाउने क्रम सुरु हुन्छ। सबैभन्दा पहिले कुलदेवता र पितृदेवतालाई टीका अर्पण गर्ने चलन छ। कतिपय घरमा घरको मूल ढोकामाथि समेत टीका लगाएर त्यसपछि मान्यजनबाट टीका ग्रहण गरिन्छ।

दुर्गा विसर्जनपछि कलशमा रहेको जललाई पवित्र मानिने धार्मिक विश्वास छ। उक्त जलले अभिषेक गरी इष्टदेवता र कुलदेवताको स्मरण गर्दै जमरा काट्ने तथा घरको मूल ढोकामा टीका लगाउने परम्परा पनि विभिन्न स्थानमा प्रचलित छ।

घरमा गुरु वा पुरोहितद्वारा दशैंको पूजा स्थापना गरिएको भए उहाँहरूबाट टीकाजमरा ग्रहण गरिन्छ। अन्यथा घरका ज्येष्ठ सदस्य तथा मान्यजनबाट टीका लगाउने चलन छ।

उत्तम साइत कुर्न नसक्नेले के गर्ने?

दशैंमा तोकिएको साइतमा मात्रै टीका लगाउनुपर्छ भन्ने अनिवार्यता नरहेको धार्मिक जानकारहरू बताउँछन्। बिहान घाम झुल्किएपछि विधिपूर्वक मान्यजनबाट टीका ग्रहण गर्न सकिने र त्यसपछि टाढा रहेका आफन्तकहाँ आशीर्वाद लिन जान पनि बाधा नपर्ने बताइएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार विशेष साइतमा टीका लगाउन नसक्नेहरूले अनावश्यक दुविधा लिनु पर्दैन। कामको व्यस्तता, यात्रा वा अन्य बाध्यताका कारण निर्धारित समय छुटे पनि मान्यजनबाट टीका तथा प्रसाद ग्रहण गर्न सकिने उनको भनाइ छ।

दशैंको मुख्य उद्देश्य मान्यजनबाट आशीर्वाद लिने, पारिवारिक सम्बन्धलाई सुदृढ बनाउने र आपसी सद्भाव कायम राख्ने भएकाले समयको विषयलाई लिएर चिन्ता लिन आवश्यक नरहेको धार्मिक मान्यता छ।