काठमाडौँ । शारदीय नवरात्रको आठौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।
नवरात्रको दोस्रो दिन सोमबार ब्रह्मचारिणी, तेस्रो दिन मंगलबार चन्द्रघण्टा, चौथो दिन बुधबार कुष्माण्डा, पाँचौँ दिन बिहीबार स्कन्दमाता, छैटौँ दिन शुक्रबार कात्यायनी, सातौँ दिन शनिबार कालरात्रि र आठौँ दिन आज महागौरीको पूजा आराधना गरिएको हो ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष विजयादशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका थाप्न कुनै समस्या नरहेको समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले बताए । दुर्गा देवीका आराधना एवं प्रसाद ग्रहण गरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन् ।