• Menu

विश्वका शीर्ष ९ धनी सबै प्रविधितर्फका, ९ जना अमेरिकीको कब्जामा ३० खर्ब डलरभन्दा बढी सम्पत्ति

डीआर आचार्य

२०८३ असोज २१, बुधबार १६:०८


काठमाडौं । विश्व अर्थतन्त्रमा प्रविधि क्षेत्रको दबदबा कति गहिरो भइसकेको छ भन्ने देखाउने एउटा असाधारण तथ्यांक सार्वजनिक भएको छ । ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सको सन् २०२६ अक्टोबर ७ को सूचीमा विश्वका सर्वाधिक धनीमा लगातार ९ जना प्रविधि क्षेत्रसँग जोडिएका व्यक्ति परेका छन् ।

सूचीको पहिलो स्थानमा इलोन मस्क छन् भने नवौँ स्थानमा स्टिभ बाल्मर छन् । यी ९ जनाको कुल सम्पत्ति जोड्दा करिब ३.०१ ट्रिलियन अमेरिकी डलर पुग्छ । र, यी सबै अमेरिकी नागरिक हुन् । अर्थात्, ९ जना अमेरिकी नागरिकको हातमा रहेको सम्पत्तिको यो परिमाण विश्वका ठूला अर्थतन्त्रसँग तुलना गर्न मिल्ने तहमा पुगेको छ ।

अझ रोचक पक्ष के भने यीमध्ये अधिकांशको सम्पत्तिको जरो कुनै परम्परागत उद्योग, खानी, तेल, बैंक वा घरजग्गा होइन, इन्टरनेट, सफ्टवेयर, सामाजिक सञ्जाल, सेमिकन्डक्टर, क्लाउड, आर्टिफिसियल इन्टेलिजेन्स, विद्युतीय सवारी र अन्तरिक्ष प्रविधिमा छ ।

१. इलोन मस्क – कुल सम्पत्ति १.०५ ट्रिलियन डलर

सूचीको शीर्षमा रहेका इलोन मस्क विश्वकै पहिलो ट्रिलेनियर बनेका व्यक्ति हुन् । उनको सम्पत्ति १० खर्ब ५ अर्ब डलर छ ।

मस्कको साम्राज्य केवल विद्युतीय गाडीमा सीमित छैन । टेस्ला विद्युतीय सवारी र ऊर्जा प्रविधिमा छ भने स्पेस एक्स अन्तरिक्ष तथा स्टारलिंक स्याटेलाइट इन्टरनेटमा केन्द्रित छ । त्यस्तै एक्स एआई आर्टिफिसियल इन्टेलिजेन्समा सक्रिय छ । उनको व्यावसायिक साम्राज्यमा एक्स सामाजिक सञ्जाल, न्युरालिंक ब्रेन-कम्प्युटर इन्टरफेस र द बोरिङ कम्पनी भूमिगत यातायात प्रविधि पनि पर्छन् । सन् २०२६ मा स्पेस एक्स र एक्स एआईबीचको संरचनात्मक एकीकरणले मस्कको व्यावसायिक साम्राज्यलाई अझ ठूलो बनाएको छ ।

२. ल्यारी पेज – कुल सम्पत्ति २९८ अर्ब डलर

दोस्रो स्थानमा छन् गुगलका सहसंस्थापक ल्यारी पेज । उनको सम्पत्ति २ खर्ब ९८ अर्ब डलर पुगेको छ ।

पेजले सर्गे ब्रिनसँग मिलेर सन् १९९८ मा गुगल स्थापना गरेका थिए । आज गुगलको मूल कम्पनी अल्फाबेट हो, जसअन्तर्गत गुगल सर्च, युट्युब, गुगल क्लाउडलगायतका विशाल प्रविधि व्यवसाय छन् ।

पेज अहिले दैनिक व्यवस्थापनमा सक्रिय सीईओ होइनन् तर अल्फाबेटका बोर्ड सदस्य तथा महत्वपूर्ण सेयरधनीका रूपमा उनको सम्पत्तिको ठूलो आधार गुगल/अल्फाबेट नै हो ।

३. जेफ बेजोस – कुल सम्पत्ति २८१ अर्ब डलर

तेस्रो स्थानमा छन् अमेजोनका संस्थापक जेफ बेजोस । उनको सम्पत्ति २ खर्ब ८१ अर्ब डलर छ । सन् १९९४ मा सुरु गरिएको अमेजोन एउटा अनलाइन पुस्तक पसलबाट सुरु भएर आज विश्वकै विशाल ई-कमर्स, क्लाउड कम्प्युटिङ र डिजिटल प्रविधि कम्पनी बनेको छ ।

बेजोस अमेजोनका सीईओ पदबाट सन् २०२१ मा हटेर कार्यकारी अध्यक्ष बनेका थिए । अमेजोनबाहेक उनको अर्को ठूलो परियोजना ब्लु ओरिजिन हो, जसले अन्तरिक्ष प्रविधि र रकेट विकासमा काम गर्छ । उनी द वासिंगटन पोस्टका सञ्चालक पनि हुन् ।

४. सर्गे ब्रिन – कुल सम्पत्ति २७७ अर्ब डलर

गुगल/अल्फाबेटका सहसंस्थापक एवं ल्यारी पेजका पार्टनर सर्गे ब्रिन चौथो स्थानमा छन् । उनको सम्पत्ति २ खर्ब ७७ अर्ब डलर छ ।

ब्रिन र पेजले मिलेर बनाएको गुगलले विश्वको सूचना खोज्ने तरिका नै परिवर्तन गरिदिएको हो । आज गुगलको मूल कम्पनी अल्फाबेट विश्वकै प्रभावशाली प्रविधि समूहहरूमध्ये एक हो । पेज र ब्रिन दुवैको सम्पत्तिको ठूलो हिस्सा अल्फाबेटमा रहेको सेयरबाट बनेको हो ।

५. माइकल डेल – कुल सम्पत्ति २६६ अर्ब डलर

अर्बपति सूचीको पाँचौँ स्थानमा छन् माइकल डेल । उनको सम्पत्ति २ खर्ब ६६ अर्ब डलर छ । कलेज पढ्दै गर्दा व्यक्तिगत कम्प्युटर बेचेर व्यवसाय सुरु गरेका डेलले निर्माण गरेको कम्पनी डेल टेक्नोलोजिज आज कम्प्युटर, सर्भर, स्टोरेज, सूचना प्रविधि पूर्वाधार र उद्यम प्रविधिको ठूलो खेलाडी हो ।

डेल टेक्नोलोजिज सन् २०१६ मा डेल र ईएमसीको करिब ६० अर्ब डलरको मर्जरबाट बनेको हो । हाल सूचना प्रविधि पूर्वाधारमा भइरहेको ठूलो लगानीले पनि डेल जस्ता हार्डवेयर तथा डेटा-सेन्टर कम्पनीहरूलाई फाइदा पुर्‍याइरहेको छ ।

६. मार्क जकरबर्ग – कुल सम्पत्ति २६१ अर्ब डलर

छैटौँ स्थानमा छन् फेसबुकका सहसंस्थापक तथा मेटा प्ल्याटफर्मका प्रमुख मार्क जकरबर्ग । उनको सम्पत्ति २ खर्ब ६१ अर्ब डलर छ ।

सन् २००४ मा सुरु भएको फेसबुक आज मेटा बनेको छ । मेटाअन्तर्गत फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपलगायत विश्वका सबैभन्दा प्रभावशाली सामाजिक सञ्जाल प्लेटफर्म छन् । कम्पनीले अहिले एआई, भर्चुअल/अगमेन्टेड रियालिटी र मेटाभर्समा ठूलो लगानी गरिरहेको छ ।

७. जेन्सेन ह्वाङ – कुल सम्पत्ति १९८ अर्ब डलर

सातौँ स्थानमा रहेका जेनसेन ह्वाङ पछिल्लो एआई क्रान्तिबाट सबैभन्दा ठूलो फाइदा उठाउने व्यक्तिमध्ये एक हुन् । उनको सम्पत्ति १ खर्ब ९८ अर्ब डलर छ ।

ह्वाङले सन् १९९३ मा एनभिडिया स्थापना गरेका थिए । स्थापनादेखि नै सीईओ तथा अध्यक्ष छन् । एनभिडियाका जिपियू चिपहरू पहिले गेमिङका लागि चर्चित थिए । अहिले यिनै चिपहरू जेनेरेटिभ एआई, च्याट जिपिटी जस्ता एआई सिस्टम, डेटा सेन्टर र एड्भान्स कम्प्युटिङको आधारभूत पूर्वाधार बनेका छन् ।

यसै कारण एनभिडियाको सेयर मूल्यमा आएको तीव्र वृद्धिले ह्वाङको व्यक्तिगत सम्पत्ति पनि असाधारण गतिमा बढाएको हो ।

८. ल्यारी एलिसन – कुल सम्पत्ति १९५ अर्ब डलर

ब्लुमबर्गको सूचीको आठौँ स्थानमा छन् ओर्‍याकलका सहसंस्थापक ल्यारी एलिसन । उनको सम्पत्ति १ खर्ब ९५ अर्ब डलर छ ।

सन् १९७७ मा स्थापना भएको ओर्‍याकल विश्वको प्रमुख डेटाबेस, इन्टरप्राइज सफ्टवेयर र क्लाउड इन्फ्रास्ट्रक्चर कम्पनीमध्ये एक हो । हाल एआईका लागि आवश्यक क्लाउड इन्फ्रास्ट्रक्चरमा ओर्‍याकलको आक्रामक विस्तारले एलिसनको सम्पत्तिमा ठूलो प्रभाव पारेको छ ।

एलिसनको प्रभाव ओर्‍याकलभन्दा बाहिर पनि फैलिएको छ । उनको पारामाउन्ट स्काइडान्समा पनि ठूलो हिस्सा छ । विगतमा उनी टेस्लाको बोर्डमा पनि थिए ।

९. स्टिभ बाल्मर – कुल सम्पत्ति १८४ अर्ब डलर

नवौँ स्थानमा छन् माइक्रोसफ्टका पूर्व सीईओ स्टिभ बाल्मर । उनको सम्पत्ति १ खर्ब ८४ अर्ब डलर छ । बाल्मरले सन् २००० देखि सन् २०१४ सम्म माइक्रोसफ्टको नेतृत्व गरेका थिए । उनको ठूलो सम्पत्ति माइक्रोसफ्टकै सेयरबाट बनेको हो ।

फोर्ब्सका अनुसार उनी माइक्रोसफ्टका सबैभन्दा ठूला व्यक्तिगत सेयरधनीमध्ये एक हुन् । माइक्रोसफ्टबाट बाहिरिएपछि उनले एनबीएको लस एन्जल्स क्लिपर्स करिब २ अर्ब डलरमा किनेका थिए । आज क्लिपर्सको मूल्य पनि निकै बढिसकेको छ ।

(एजेन्सीको सहयोगमा)