एजेन्सी । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको तयारी गरिरहेको इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका विरोधीहरूले उक्त घटनालाई चुनावी अभियानको मुख्य मुद्दा बनाएका छन् । सुरक्षा विफलता, युद्ध र सरकारको जिम्मेवारीका विषयले चुनावी बहसलाई प्रभावित गरेको छ ।
इजरायल डेमोक्रेसी इन्स्टिच्युटकी जनमत विशेषज्ञ तामार हर्मनले अक्टोबर ७ को घटना इजरायलको राजनीतिक बहसको आधार बनेको बताए । विपक्षीहरूले आक्रमणको सुरक्षा विफलताको जिम्मेवारी नेतान्याहुले लिनुपर्ने भन्दै घटनाबारे आधिकारिक अनुसन्धान आयोग गठन र सुधार तथा पुनर्निर्माणमा केन्द्रित सरकार बनाउने प्रतिबद्धता जनाएका छन् । नेतान्याहुका समर्थकहरूले भने सैन्य नेतृत्वको कमजोरीका बाबजुद उनले देशलाई कठिन परिस्थितिबाट अघि बढाएको दाबी गरेका छन् ।
अक्टोबर २७ मा हुने चुनावमा नेतान्याहुको भविष्यसमेत जोडिएको छ । सन् २०२३ को आक्रमणमा करिब एक हजार दुई सय मानिस मारिएका र २५१ जना बन्धक बनाइएका थिए । त्यसपछि इजरायलले गाजामा सैन्य कारबाही सुरु गर्दा स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार ७४ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । युद्ध लेबनान, सिरिया, यमन र इरानसम्म फैलिएको छ ।
नेतान्याहुले हमासविरुद्ध ‘पूर्ण विजय’ को प्रतिबद्धता जनाउँदै आएका छन् । प्रमुख सुरक्षा अधिकारीहरूले राजीनामा दिएपछि उनी अक्टोबर ७ पछि पदमा रहेका एकमात्र वरिष्ठ अधिकारी हुन् । प्रमुख प्रतिद्वन्द्वी पूर्व सैन्य प्रमुख गदी आइसेनकोटले आक्रमणमा छोरा र भतिजा गुमाएका छन् ।
चुनावी बहसमा गाजाको मानवीय संकट र प्यालेस्टिनी राज्य स्थापनाबारे भने कमै चर्चा भएको छ । इजरायल डेमोक्रेसी इन्स्टिच्युटका अनुसार ६० प्रतिशतभन्दा बढी इजरायलीले अक्टोबर ७ को घटनाप्रतिको धारणा मतदानको निर्णयमा प्रमुख कारक रहेको बताएका छन् ।
यहुदी मतदातामध्ये यस्तो धारणा राख्नेको संख्या ६८ प्रतिशत छ । हर्मनका अनुसार घटनालाई महत्त्वपूर्ण ठान्ने मतदाताबीच पनि त्यसबाट निकालिएको राजनीतिक निष्कर्ष भने फरक-फरक छ ।