एजेन्सी । बंगलादेशका पूर्व विदेशमन्त्री तथा अवामी लिगका संयुक्त महासचिव मोहम्मद हसन महमुदले सन् २०२४ को राजनीतिक उथलपुथलमा पाकिस्तानको गुप्तचर निकाय इन्टर सर्भिस इन्टेलिजेन्स (आइएसआई) संलग्न रहेको आरोप लगाएका छन् । उनले त्यसयता बंगलादेशमा गम्भीर मानव अधिकार उल्लंघन भइरहेको दाबी गरे ।
महमुदले ५ अगस्ट २०२४ का घटनापछि बनेको अन्तरिम सरकार र वर्तमान सरकार पाकिस्तानसँग घनिष्ठ सम्बन्धतर्फ अघि बढिरहेको बताउँदै राजनीतिक दिशामा ‘राष्ट्रिय पुनर्विचार’ आवश्यक रहेको उल्लेख गरे । उनले अवामी लिगमाथिको प्रतिबन्ध हटाउन र नेता, कार्यकर्ता तथा समर्थकमाथिको दमन रोक्न आग्रह गर्दै ‘राष्ट्रिय मेलमिलाप हुनुपर्छ’ भने ।
उनले धार्मिक अल्पसङ्ख्यकमाथि आक्रमण, मन्दिर तथा चर्चमा क्षति र सयौँ हिन्दू घर ध्वस्त पारिएको दाबी गरे । साथै पाँच लाखभन्दा बढी राजनीतिक विरोधी पक्राउ परेको, एक लाख २० हजारभन्दा बढी हिरासतमा रहेको तथा दुई सयभन्दा बढी अवामी लिगका नेता-कार्यकर्ताको हिरासतमै मृत्यु भएको आरोप लगाए ।
महमुदले हिन्दू सन्त चिन्मय कृष्ण दासलाई धार्मिक अल्पसंख्यकमाथिको दमनको विरोध गरेका कारण पक्राउ गरी जमानतबिना हिरासतमा राखिएको दाबीसमेत गरे ।