• Menu

धनुषा र सिरहा जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिरदेखि सञ्चालनमा ल्याइने

नेपाल प्रफिट

२०८३ असोज २०, मंगलबार १७:३२

धनुषा र सिरहा जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिरदेखि सञ्चालनमा ल्याइने

धनुषा । पूर्व-पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन पुललाई आगामी मंसिर महिनादेखि सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले जनाएको छ ।

कार्यालय प्रमुख कृष्णकुमार महतोका अनुसार पुलको १० नम्बर पिलर उठाउने काम सम्पन्न भइसकेको छ भने सुपर ढलान भइरहेको छ । पुलको फाउण्डेसनसहित तीनवटा पिलरको सबलीकरण तथा ढलानसमेत अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

२०७८ सालअसारमा उद्घाटनको तयारी भइरहेका बेला आएको बाढीले पुलको पिलर भाँचिएपछि पुल जीर्ण अवस्थामा पुगेको थियो । पुल पुनर्निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले लामो समयदेखि खोला तर्न डुंगाको सहारा लिनुपरेको थियो ।

पुल निर्माणमा देखिएका मुख्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि कामले तीव्रता पाएको प्रमुख महतोले बताए । पुलका दुवैतर्फ पुलसम्म पुग्ने सडकमा माटो भर्ने काम सम्पन्न भएपछि मंसिरदेखि पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

कमला पुल निर्माणको ठेक्का २०६८ सालमा पप्पु-लुम्बिनी जेभीले पाएको थियो । सोही निर्माण कम्पनीले अहिले पुलको पुनर्निर्माणको काम गरिरहेको छ । यसैबीच हुलाकी सडकअन्तर्गत सिरहादेखि सलार्हीसम्मको ४०६.४३ किलोमिटर सडकखण्डमध्ये हालसम्म ३४७.६३ किलोमिटर सडकमा कालोपत्र सम्पन्न भएको छ । उक्त सडकखण्डमा पर्ने २४ वटा पुलको निर्माणसमेत सम्पन्न भइसकेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जितकुमार रायका अनुसार सिरहामा कूल ५७.५२ किलोमिटर सडकखण्डमध्ये २९.९८ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने २७.४६ किलोमिटर सडक निर्माणाधीन छ ।

त्यस्तै धनुषामा कूल ८९ दशमलव ५२ किलोमिटरमध्ये ७४.५८ किलोमिटर सडक निर्माण सम्पन्न भएको र १४.९४ किलोमिटर निर्माणाधीन रहेको छ । महोत्तरीमा कुल ९३.५ किलोमिटरमध्ये ९१.५६ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने १.९४ किलोमिटर बाँकी छ ।

सर्लाहीमा कूल १६६.२ किलोमिटर सडकखण्डमध्ये १५१.५१ किलोमिटर सडक निर्माण सम्पन्न भएको र १४.५१ किलोमिटर सडक निर्माणाधीन रहेको सूचना अधिकारी रायले जानकारी दिए ।

आर्थिक वर्ष २०८२/८३ भित्रै हुलाकी सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि राजमार्गभित्र परेका घरटहरा हटाउन ढिलाइ, विभिन्न स्थानमा जग्गासम्बन्धी विवादलगायत कारणले केही काम प्रभावित भएको कार्यालय प्रमुख महतोले बताए । बाँकी काम समयमै सम्पन्न गर्न निरन्तर प्रयास भइरहेको उनको भनाइ छ ।

नेपालकै पुराना राजमार्गमध्ये एक मानिने पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत मधेस प्रदेशका आठवटै जिल्लामा सडक तथा पुल निर्माण तीव्र रूपमा अघि बढेपछि विगतमा दुर्गम मानिएका ग्रामीण क्षेत्र अहिले क्रमशः सहज सडक सञ्जालसँग जोडिँदै गएका छन् ।

हुलाकी सडक निर्माणले स्थानीय बासिन्दाको आवागमन सहज हुनुका साथै मधेस प्रदेशको आर्थिक गतिविधि र विकासले गति लिने तथा हजारौँ युवाका लागि रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।