• Menu

तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन चीनसँग कुराकानी भइरहेको छ : पूर्वाधारमन्त्री

नेपाल प्रफिट

२०८३ असोज २०, मंगलबार १६:४२

तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन चीनसँग कुराकानी भइरहेको छ : पूर्वाधारमन्त्री

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालन गर्ने बारेमा चीनसँग कुराकानी भइरहेको बताएका छन् ।

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको मंगलबारको बैठकमा मन्त्री लम्सालले तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने एवं रसुवागढी नाका सञ्चालनमा ल्याउने बारेमा सरकार निरन्तर प्रयत्नशील रहेको जानकारी दिएका हुन् ।

मन्त्री लम्सालले अहिले तातोपानी नाकामा नेपालतर्फ कुनै समस्या नरहेको र नेपालतर्फको बाटो पनि सञ्चालनमा ल्याइसकिएको जानकारी दिए । तर यसका लागि चिनियाँ पक्ष भने तयार नदेखिएको पनि उनले जानकारी दिए ।

उनले भने, ‘अहिले पनि हामी तयार नै छौँ । हाम्रा लागि त्यो नाका सञ्चालन गर्न कुनै कठिनाइ छैन । चिनियाँ पक्षसँग पनि हामी नियमित संवादमा रहेका छौँ । रसुवागढी नाका कसरी खुलाउने भन्ने विषयमा हामी लागि रहेका छौँ ।’

ठूलो प्राकृतिक विपद् आइलागेकाले अहिले नै यी नाकाहरु सञ्चालनमा ल्याउन समस्या आए पनि सरकारले तत्काल सडक तथा पूर्वाधार निर्माण र पुनर्स्थापनाका लागि भने काम गरिरहेको मन्त्री लम्सालले जानकारी दिए ।

मन्त्री लम्सालले रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसलाई पुनः सञ्चालन गर्ने बारेमा पनि सरकारले योजना बनाइरहेको बताए । उनले त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका काममा सरकार लागिपरेको जानकारी दिए ।