काठमाडौँ । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुल्ने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको उच्चस्तरीय बैठकले अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो।
बैठकले यात्रुको सुरक्षा, सुविधा तथा यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्ने निर्णयसमेत गरेको छ।
यस्तै, टिकट काउन्टरमा कार्यरत कर्मचारीले अनिवार्य परिचयपत्र लगाउनुपर्ने र निर्धारित पोसाकमा हुनुपर्ने व्यवस्था गरिएको छ। टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने निर्णय पनि बैठकले गरेको छ।
चाडपर्वको समयमा यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल गर्ने, कालोबजारी गर्ने तथा टिकट बिक्रीमा अनियमितता गर्नेमाथि कडा कानुनी कारबाही गरिने विभागले जनाएको छ।
विभागका अनुसार यस वर्ष दसैंको अवधिमा मात्रै १० लाखभन्दा बढी यात्रुले सार्वजनिक यातायातको अग्रिम टिकट काट्ने अनुमान गरिएको छ।