• Menu

दुई नयाँ कोचसहित ‘द भ्वाइस अफ नेपाल’ सिजन ८ शुक्रबारदेखि प्रसारण हुने

नेपाल प्रफिट

२०८३ असोज २०, मंगलबार १३:०४

दुई नयाँ कोचसहित ‘द भ्वाइस अफ नेपाल’ सिजन ८ शुक्रबारदेखि प्रसारण हुने

काठमाडौं । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को आठौँ सिजन शुक्रबारदेखि प्रसारण हुने भएको छ। काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा कार्यक्रमको प्रसारण मिति, नयाँ प्रायोजक तथा कोचहरूको नाम सार्वजनिक गरिएको हो।

आठौँ सिजनमा ऊर्जा पेय रेडबुल मुख्य प्रायोजकका रूपमा जोडिएको छ। चौधरी ग्रुपको सोयम नुडल्स र राइड सेयरिङ सेवा इनड्राइभ पावर बाई प्रायोजकका रूपमा अनुबन्ध भएका छन्। को-स्पोन्सरका रूपमा कोलगेट टुथपेस्ट र पल्स चकलेट रहेका छन्।

त्यस्तै, एसोसिएट स्पोन्सरमा एसियन पेन्ट्स, हिमस्टार, लेट मी इन, गोल्डस्टार र अथर इलेक्ट्रिक बाइक रहेका छन्। लेयर सट, मार्भल पाइप एन्ड फिटिङ्स, केटीएम ट्रिप डटकम र जेरोना डर्मा कार्यक्रमका अन्य साझेदारका रूपमा जोडिएका छन् भने मतदान साझेदारमा खल्ती रहेको छ। कार्यक्रमको बजार व्यवस्थापनको जिम्मेवारी एस मिडिया एन्ड मार्केटिङले लिएको छ।

हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले आठौँ सिजनदेखि अन्तिम चरणमा पुग्ने प्रतिभाका मौलिक गीत तथा सङ्गीत भिडियो निर्माणको कामसमेत सुरु गरिने बताए। नेपाली सङ्गीतमा दीर्घकालीन लगानी गर्ने उद्देश्यले मुख्य प्रायोजक रेडबुलसँग लामो समयको साझेदारी गरिएको र नेपाली सङ्गीत उद्योगमा नयाँ प्रतिभा जन्माउन निजी क्षेत्रसँग सहकार्य गरिएको उनको भनाइ छ।

रेडबुल उत्पादक सरस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले नेपाली सङ्गीतको प्रवर्धन गर्ने उद्देश्यले नयाँ प्रतिभा र मौलिक गीत उत्पादनका लागि ‘द भ्वाइस अफ नेपाल’ जस्तो अन्तर्राष्ट्रियस्तरको कार्यक्रमसँग साझेदारी गरिएको बताए।

कार्यक्रममा नयाँ कोचका रूपमा गायक एकदेव लिम्बू र नरेन लिम्बूलाई सार्वजनिक गरिएको छ। युवापुस्तामाझ लोकप्रिय नयाँ कोचमार्फत यस सिजनमा नयाँ आवाज र नयाँ कथाहरू प्रस्तुत गर्न लागिएको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले बताए।

सिजन ८ मा गायक प्रमोद खरेल र गायिका मिलन नेवार पनि कोचका रूपमा रहनेछन्। प्रमोद खरेलले यसअघि पाँच पटक आफ्नो टोलीलाई विजेता बनाइसकेका छन् भने मिलन नेवारले पनि विजेता कोचको उपाधि हासिल गरिसकेकी छन्।