• Menu

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबीच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी

नेपाल प्रफिट

२०८१ असार २०, १०:५३

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबीच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स प्रालि तथा प्यासिफिक डेभलपर्स प्रालिबीच हरित आवास कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार बैंकले ललितपुरको गोदावरी नगरपालिका वडा नं ३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरणमैत्री आवासीय घर खरिदकर्तालाई सहज रुपमा कर्जा प्रवाह गर्नेछ ।

बैंकले भूमि तथा प्यासिफिक डेभलपर्सले बिक्री गर्ने वातावरणमैत्री आवासीय घरहरु खरिद गर्न चाहने ग्राहकलाई ३ कार्यदिन भित्र सरल र सहज कर्जा प्रवाह गर्ने जनाएको छ । साथै, ग्लोबल आइएमई बैंक भूमि तथा प्यासिफिक डेभलपर्सले निमाण गर्ने परियोजनाको बैंकिङ पार्टनरको रुपमा समेत रहनेछ ।

समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सका सञ्चालक बेंकटेस मुन्दराले हस्ताक्षर गरेका छन् ।

बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा ७ वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर र त्यसपश्चात कुल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुनेछ ।

इको–फ्रेन्ड्ली घर भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरणमैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ ।

वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको–फ्रेन्ड्ली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी प्रत्यक्षरुपमा लावान्भित गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।