• Menu

तीन दिनमा ६७ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि बढोत्तरी

नेपाल प्रफिट

२०८१ असार १९, बुधबार १६:०५

तीन दिनमा ६७ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि बढोत्तरी

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ को अंकमा पुगेको छ ।

नेप्से तीन दिन लगातार बढेर २०३७.०९ बाट २१०४.२२ अंकमा उक्लिएको छ । नेप्से सोमबार १६.२९ र मंगलबार ४७.०४ अंकले बढेको थियो । तीन दिनमा नेप्से ६७.१३ अंकले बढेको छ ।

कारोबार रकम पनि बढेको छ । आज ३१४ कम्पनीको एक करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर ६१ हजार १९९ पटक खरिद–बिक्री हुँदा कारोबार रकम पाँच अर्ब आठ करोड ३५ लाख २८ हजार ९३५ रुपैयाँ बराबर पुगेको छ । मंगलबार ४ अर्ब ४६ करोडको कारोबार भएको थियो ।

आजको कारोबारमा व्यापार समूहको सूचक सबैभन्दा धेरै ६.१२ र वित्त समूहको सूचक ६.०४ प्रतिशतले बढेको छ । बैंकिङ ०.६३, विकास बैंक २.७१ र लगानी ०.१८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

होटल तथा पर्यटन ०.१९, जलविद्युत् ०.६८, जीवन बिमा ०.२५, उत्पादन तथा प्रशोधन १.०७, लघुवित्त ०.१४, म्युचुअल फन्ड ०.०९, निर्जीवन बिमा ०.२३ र अन्य समूह ०.६७ प्रतिशतले घटेको छ ।

सेन्ट्रल फाइनान्स र आईसीएफसी फाइनान्सको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने चिर्खुवा हाइड्रोपावरको सेयर मूल्य ४.७० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको २३ करोड एक लाख ७७ हजार ७७४ रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार भएको सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै एनएमबी–५० को ३८ लाख १४ हजार ८१५ कित्ता शेयर किनबेच भएको छ ।