काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँ तान्न लगेको हो । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिने अवधिका लागि रकम उठाउन लागेको जनाएको छ ।
लगानी गर्न चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोलमार्फत घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् । आवेदन आज (बुधबार) ३ बजेसम्म दिन सकिनेछ ।
निक्षेप संकलनमा सहभागी भएका बैंक वित्तीय संस्थाको साँवा ब्याज भुक्तानी साउन ९ गते हुनेछ ।
राष्ट्र बैंकले ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयन गर्न चालु आर्थिक वर्षको फागुनबाट स्थायी निक्षेप सुविधा (एसडीएफ) उपकरण प्रयोगमा ल्याएको छ । तर, एसडीएफ उपकरण प्रयोगमा ल्याउँदा पनि निक्षेप संकलन बोलकबोलमार्फत केन्द्रीय बैंकले तरलता खिच्नुपरिरहेको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमा ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशत कायम गरेको छ । अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेको अवस्थामा केन्द्रीय बैंकले तरलता खिच्ने गरेको छ । असार १५ गते अन्तरबैंक ब्याजदर २.९१ प्रतिशतमा झरेको छ ।
अहिले बैंक तथा वित्तीय संस्थामा तलरता उच्च छ । असार १६ को तथ्यांकअनुसार कर्जा निक्षेप अनुपात ७९.१८ प्रतिशत छ ।