• Menu

जीवन बिमा कम्पनीहरुको कुल बिमा शुल्कमा उच्च वृद्धि, जेठमा मात्रै १२ अर्ब २९ करोड संकलन

नेपाल प्रफिट

२०८१ असार ११, १५:५६

जीवन बिमा कम्पनीहरुको कुल बिमा शुल्कमा उच्च वृद्धि, जेठमा मात्रै १२ अर्ब २९ करोड संकलन

काठमाडौं । जीवन बिमा कम्पनीले बिमा शुल्क संकलनमा उच्च वृद्धि गरेका छन् । २०८० जेठमा १० अर्ब ४३ करोड ४० लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेका जीवन बिमा कम्पनीले २०८१ जेठमा १२ अर्ब २६ करोड ६३ लाख रुपैयाँ संकलन गरेका हुन् ।

त्यसबाहेक यो वर्ष लघु जीवन बिमा कम्पनी पनि थपिएका छन् । लघु जीवन बिमा कम्पनीहरुले जेठमा ३ करोड ८ लाख कुल बिमा शुल्क संकलन गरेका छन् ।

२०८१ जेठ मसान्तसम्ममा जीवन बिमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब ७५ करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।

सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीले ११ महिनामा १ खर्ब ३३ अर्ब ६२ करोड र तीन लघु जीवन बिमा कम्पनीले १३ करोड २७ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेका छन् ।

जीवन बिमा कम्पनीहरुले प्रथम बिमा शुल्क २७ अर्ब ७० करोड र नवीकरण शुल्क १ खर्ब ६ अर्ब ५ करोड रुपैयाँ संकलन गरेका छन् ।

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जेठमा ३ अर्ब १८ करोड कुल बिमा शुल्क आर्जन गरेको छ । गत वर्षको जेठमा यो कम्पनीले २ अर्ब ७१ करोड आर्जन गरेको थियो ।

त्यस्तै गत वर्ष जेठमा १ अर्ब २९ करोड कुल बिमा शुल्क आर्जन गरेको लाइफ इन्स्योरेन्स कर्पोरेसनले यो वर्षको जेठमा १ अर्ब ६५ करोड संकलन गरेको छ ।

यसबाहेक जेठ महिनामा १ अर्बभन्दा बढी कुल बिमा शुल्क आर्जन गर्नेमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी १ अर्ब ६४ करोड र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी १ अर्ब १३ करोड छ ।

अन्य १० कम्पनीको अर्बभन्दा कम छ । सबैभन्दा कम राष्ट्रिय जीवन बिमा कम्पनीको १८ करोड ९२ लाख रुपैया छ ।

जेठसम्ममा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले कुल बिमा शुल्क ३५ अर्ब ५६ करोड रुपैयाँ संकलन गरेको छ भने नेसनल लाइफले १५ अर्ब ९८ करोड, एलआईसी नेपालले १५ अर्ब ८९ करोड, हिमालयन लाइफले १४ अर्ब ६४ करोड र सूर्यज्योति लाइफले ८ अर्ब रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ ।

जेठ मसान्तसम्म कुल सक्रिय बिमालेखको संख्या १ करोड ४० लाख ८९ हजार ६२२ छ । जीवन बिमा कम्पनीहरुको कुल सक्रिय बिमालेख संख्या १ करोड ४० लाख १२ हजार ३०२ र लघु जीवन बिमाहरुको ७७ हजार ३२० छ ।