• Menu

प्रधानमन्त्री राहत कोषमा सप्तरंगी इन्द्रेणी बौद्ध समाजको २ लाख १ हजार सहयोग

नेपाल प्रफिट

२०८३ भदौ २२, सोमबार १७:३४

प्रधानमन्त्री राहत कोषमा सप्तरंगी इन्द्रेणी बौद्ध समाजको २ लाख १ हजार सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सप्तरंगी इन्द्रेणी बौद्ध समाज स्वयम्भुले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेको छ।

समाजले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठमार्फत प्रधानमन्त्री राहत कोषमा २ लाख १ हजार १०१ रुपैयाँ सहयोग गरेको हो।

ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष मनिक लामाले मन्त्री श्रेष्ठलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए।

चेक हस्तान्तरणपछि बौद्ध लामाहरूले देशमा आएको विपत्तिबाट मुलुकलाई शीघ्र मुक्तिको कामना गर्दै मन्त्रोच्चारणसहित आशीर्वाद दिएका थिए।

मन्त्री श्रेष्ठले विपद्को समयमा सहयोगका लागि हातेमालो गरेकोमा सप्तरंगी इन्द्रेणी बौद्ध समाजप्रति धन्यवाद व्यक्त गरे। सरकार, विभिन्न संघसंस्था तथा नागरिकको सामूहिक प्रयासबाट मुलुकले भोगिरहेको संकटबाट चाँडै बाहिर निस्कन सकिने विश्वाससमेत उनले व्यक्त गरे।