काठमाडौं । नेपाल हुलाकले दुर्गम क्षेत्रमा सरकारी कुरियर सेवाका रूपमा सेवा विस्तार गरेको भन्दै एसिया प्रशान्त हुलाक संघ (एपीपीयू) को सन् २०२६ को ‘इनोभेसन अवार्ड’ प्राप्त गरेको छ।
थाइल्याण्डको बैंककमा अगस्ट ३१ देखि सेप्टेम्बर ४ सम्म आयोजना भएको १४औँ एपीपीयू कंग्रेसमा हुलाक सेवा विभागलाई ‘सर्भिस इन रिमोट एरियाज’ शीर्षकमा उक्त सम्मान प्रदान गरिएको हो।
सरकारी कुरियर सेवाका रूपमा दुर्गम क्षेत्रमा समेत सेवा विस्तार गर्न नेपाल हुलाकले गरेको पहलको कदरस्वरूप अवार्ड प्रदान गरिएको हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिइन्।
सरकारले शासकीय सुधारका १०० कार्यसूचीमार्फत हुलाक सेवालाई परम्परागत सेवाबाट सरकारी कुरियर सेवाका रूपमा रूपान्तरण गर्ने नीति लिएपछि नेपाल हुलाकले महत्वपूर्ण सरकारी कागजात नागरिकको घरदैलोसम्म पुर्याउँदै आएको छ। राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र तथा स्वास्थ्यसम्बन्धी प्रतिवेदनलगायत कागजात घरमै पुर्याउने सेवालाई अवार्डका लागि महत्वपूर्ण आधार मानिएको विभागले जनाएको छ।
दुर्गम क्षेत्रमा सेवा विस्तार चुनौतीपूर्ण
महानिर्देशक पंगेनीले नेपालको कठिन भौगोलिक अवस्थाका कारण हुलाक सेवा सञ्चालनमा विभिन्न चुनौती रहेको बताइन्। सडक तथा सञ्चार पूर्वाधार कमजोर भएका दुर्गम क्षेत्रमा समेत भरपर्दो सेवा पुर्याउन पूर्वाधार निर्माण तथा सेवा सुधारका काम अघि बढाइएको उनको भनाइ छ।
सरकारी सेवा नागरिकको घरसम्म पुर्याउने तथा हरेक सेवा सरल, छिटो र भरपर्दो बनाउने उद्देश्यले हुलाकको भूमिका विस्तार भइरहेको उनले बताइन्।
नेपाली उत्पादनलाई विश्व बजारसँग जोड्ने प्रस्ताव
कंग्रेसमा नेपालले सीमापार विद्युतीय व्यापार तथा क्षेत्रीय हुलाक ढुवानी सञ्जाल विस्तारको विषयसमेत उठाएको थियो। स्थानीय तथा मौलिक नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन हुलाक सञ्जाललाई प्रभावकारी माध्यमका रूपमा विकास गर्न सकिने विषयमा नेपालले धारणा राखेको हो।
विशेषगरी साना उद्यमी, किसान तथा ग्रामीण समुदायका उत्पादनलाई बजारसँग जोड्न हुलाकले ढुवानीको सेतुका रूपमा काम गर्न सक्ने नेपालले जनाएको छ। एसिया प्रशान्त क्षेत्र हुँदै नेपाली उत्पादनलाई विश्व बजारसम्म पुर्याउन सदस्य राष्ट्रबीच सहकार्य आवश्यक रहेकोमा पनि नेपालले जोड दिएको थियो।
कंग्रेसको पूर्ण बैठकमा नेपाललाई विशेष समय उपलब्ध गराइएको थियो। सो अवसरमा महानिर्देशक पंगेनीले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको क्षतिबारे जानकारी गराउँदै विपद्का समयमा हुलाक तथा सञ्चार सञ्जालको महत्व अझ बढ्ने बताइन्।
सडक, पुल तथा दूरसञ्चार सेवा अवरुद्ध हुँदा सूचना, राहत सामग्री, औषधि तथा आवश्यक सरकारी सेवा नागरिकसम्म पुर्याउन हुलाकको पहुँच महत्वपूर्ण हुने उनको भनाइ थियो।
आधुनिक र विपद् प्रतिरोधी हुलाक प्रणालीमा जोड
एपीपीयू कंग्रेसमार्फत नेपालले आधुनिक, भरपर्दो, समावेशी तथा नागरिककेन्द्रित हुलाक प्रणाली निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको औँल्याएको छ।
प्रविधि हस्तान्तरण, कर्मचारीको क्षमता विकास, डिजिटल प्रणाली, विद्युतीय व्यापार, वातावरणमैत्री प्रविधि तथा विपद् प्रतिरोधी हुलाक पूर्वाधार निर्माणमा सहयोग गर्न नेपालले अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ।
१४औँ एपीपीयू कंग्रेसमा एसिया प्रशान्त क्षेत्रका ३२ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी भएका थिए। कंग्रेसमा क्षेत्रीय हुलाक सेवा आधुनिकीकरण, डिजिटल रूपान्तरण, सीमापार व्यापार, हुलाक ढुवानी तथा सदस्य राष्ट्रबीच सहकार्यका विषयमा छलफल भएको थियो।