काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको सहयोगार्थ सांगीतिक कोष संकलन कार्यक्रम आयोजना गरिएको छ। पीआरभी इन्टरटेनमेन्टको आयोजनामा ट्रिसारा रेस्टुरेन्टमा आयोजित कार्यक्रममा एक्सिस ब्यान्डले सांगीतिक प्रस्तुति दिएको थियो।
भोटेकोशी नदी क्षेत्रमा अगस्ट २६, २०२६ मा आएको विनाशकारी आकस्मिक बाढीबाट जनधनको ठूलो क्षति भएको थियो। बाढीका कारण घर, सडक, पुल, जलविद्युत आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेपछि प्रभावित परिवार राहत तथा सहयोगको पर्खाइमा रहेका छन् ।
यही मानवीय अवस्थालाई ध्यानमा राख्दै प्रभावित परिवारका लागि सहयोग जुटाउने उद्देश्यले सांगीतिक कोष संकलन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी दर्शक तथा शुभेच्छुकले खरिद गरेको प्रवेश टिकटबाट प्राप्त रकमसँगै विभिन्न संघसंस्था तथा व्यवसायीबाट प्राप्त सहयोगसमेत गरी कुल ४ लाख ९ हजार ६ सय ३७ रुपैयाँ संकलन भएको छ ।
कार्यक्रमबाट संकलित सम्पूर्ण रकम भोटेकोशी राहत कोषमा हस्तान्तरण गरिएको आयोजकले जनाएको छ। उक्त रकम बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र सहयोगमा प्रयोग गरिनेछ ।
कार्यक्रममा हिमालयन प्रोडक्सन्स, रोटेपिङ इन्टरटेनमेन्ट, वावाज, लिक्वी मोली, पौडेल इन्टरप्राइजेज, रोटरी क्लब अफ भिजन काठमाडौं, फोनपोइन्ट्स, डोको टुर्स, समारा ट्रेडर्स इन्टरप्राइजेज, लाइभ सोलुसन, इसेवा, लेजेन्डरी मोटर्स हब तथा एनिग्राफी स्टुडियोलगायतले सहयोग गरेका थिए।
एक्सिस ब्यान्डको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। संगीतमार्फत मनोरञ्जनसँगै विपद्बाट प्रभावित समुदायका लागि सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।
आयोजकले सहयोगी संघसंस्था, व्यवसायी, कार्यक्रममा सहभागी दर्शक, टिकट खरिदकर्ता, कलाकार, स्वयंसेवक तथा तस्बिर र भिडियो संकलनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।
कार्यक्रमले समुदाय, संगीत र सामूहिक जिम्मेवारीमार्फत विपद्मा परेका नागरिकलाई सहयोग गर्न सकिने सन्देश दिएको आयोजकले जनाएको छ। आगामी दिनमा पनि मानवीय तथा स्वास्थ्यसम्बन्धी कठिनाइमा परेका व्यक्ति र समुदायका लागि यस्ता सहयोगात्मक अभियानलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।