काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत आयोजनाका कर्मचारी तथा उद्धार गरिएका चिनियाँ नागरिकसँग भेट गरेका छन् ।
मन्त्री श्रेष्ठले आइतबार दिउँसो छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उनीहरूका परिवारसँग भेट गरेका हुन् ।
मन्त्री श्रेष्ठले त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाबाट उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई भेटेका थिए। उनले महर्जनका परिवारसँग समेत भेट गरी हौसला प्रदान गरेका थिए।
त्यस्तै, मन्त्री श्रेष्ठले माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग पनि भेट गरेका थिए। उनले स्याफ्रुबाट उद्धार गरिएकी एक किशोरीको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिएका थिए ।
घाइतेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको मन्त्री श्रेष्ठले बताए। पानी र लेदोका कारण भएका घाउ तथा शारीरिक चोटहरू निको हुँदै गएको उल्लेख गर्दै उनले उनीहरूलाई मानसिक तथा मनोवैज्ञानिक परामर्शको आवश्यकता रहेको बताए ।
‘उहाँहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। पानी र लेदोबाट भएका घाउहरू निको हुँदैछन्। शारीरिक घाउचोटहरू पनि निको हुन थालेका छन्। मानसिक र मनोवैज्ञानिक परामर्श आवश्यक छ,’ मन्त्री श्रेष्ठले भने ।
मन्त्री श्रेष्ठले घाइतेको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा उद्धार कार्यमा संलग्न सबैलाई धन्यवाद दिए। स्वास्थ्यकर्मीले घाइतेको राम्रोसँग हेरचाह गरिरहेको उनले बताए ।
भेटका क्रममा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालका डा. कर्णेल कुमार रोकाले मन्त्री श्रेष्ठलाई घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।