• Menu

आयल निगमद्वारा त्रिभुवन राजमार्गमार्फत ग्यास ढुवानी, दुई दिनमै भित्र्याइयो करिब ५९ हजार सिलिन्डर

नेपाल प्रफिट

२०८३ भदौ २१, आइतबार १३:३५

आयल निगमद्वारा त्रिभुवन राजमार्गमार्फत ग्यास ढुवानी, दुई दिनमै भित्र्याइयो करिब ५९ हजार सिलिन्डर

काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथमार्फत काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको आपूर्ति निरन्तर गरिरहेको छ।

भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किएपछि इन्धन बोकेका ट्या र तथा ग्यास बोकेका सवारीसाधन बाटोमै रोकिएका थिए। त्यसपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका ग्यास उद्योगबाट भरिएका सिलिन्डर काठमाडौं उपत्यकामा ल्याउन थालेको हो।

निगमका अनुसार भदौ १८ गते करिब २४ हजार ५०० र भदौ १९ गते करिब ३४ हजार १३४ थान ग्यास सिलिन्डर उपत्यका भित्र्याइएको छ। आपूर्ति व्यवस्था सहज राख्न सार्वजनिक बिदाका दिनमा समेत ग्यास भर्ने तथा ढुवानी गर्ने काम नरोक्न उद्योगहरूलाई निर्देशन दिइएको निगमले जनाएको छ।

उद्धार टोलीका लागि नुवाकोटबाट हवाई इन्धन

यसैबीच, भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा क्षति पुगेपछि जारी खोज तथा उद्धार कार्यका लागि निगमले हवाई इन्धन तथा खाना पकाउने ग्यास उपलब्ध गराउँदै आएको छ।

उद्धार कार्यमा खटिएका हेलिकप्टरका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म १ लाख २० हजार लिटर हवाई इन्धन भरिएको निगमले जनाएको छ।

त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका अस्थायी आश्रयस्थलका लागि ५७५ थान खाना पकाउने ग्यासका सिलिन्डर पठाइएको निगमले जनाएको छ।

बाढी तथा सडक अवरोधका कारण आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक मार्गबाट इन्धन तथा ग्यासको ढुवानीलाई निरन्तरता दिइएको निगमको भनाइ छ।