काठमाडौं । यती पेन्ट्स नेपालले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित नागरिक तथा समुदायको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
यती पेन्ट्सका अध्यक्ष झलकबहादुर केसीले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरिएको जानकारी दिए।
उनका अनुसार विपद्का कारण प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनर्स्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उद्धार कोषमा रकम उपलब्ध गराएको हो।
कम्पनीले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, बाढीबाट प्रभावित सम्पूर्ण नागरिकको शीघ्र उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामना गरेको छ।