काठमाडौं । एसटीसी ग्रुपले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख १ हजार रुपैयाँ सहयोग गरेको छ। ग्रुपले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्काल राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको एसटीसी ग्रुपले जनाएको छ।
एसटीसी ग्रुपको आधिकारिक वितरकका रूपमा काम गर्दै आएको भारतीय भेरोक इन्टरनेसनल कम्पनीले समेत बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ। दुवै संस्थाको सहयोगसहित एकमुष्ट ५० लाख १ हजार रुपैयाँ उद्धार कोषमा हस्तान्तरण गरिएको हो।
भोटेकोसी क्षेत्रमा आएको बाढीबाट जनजीवन, भौतिक संरचना तथा स्थानीय अर्थतन्त्रमा ठूलो क्षति पुगेकाले विपद्को समयमा निजी क्षेत्रले पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता महसुस गरी सहयोग गरिएको ग्रुपले जनाएको छ।
एसटीसी नेपालका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए।
सरकारको राहत तथा उद्धार प्रयासमा निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने विश्वासका साथ सहयोग गरिएको उल्लेख गर्दै उनले सानो भए पनि सहयोगले प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा योगदान पुग्ने विश्वास व्यक्त गरे।
एसटीसी ग्रुप नेपालमा सवारीसाधनका विभिन्न सामग्री, स्नेहक पदार्थ तथा टायरलगायत उत्पादनको आधिकारिक बिक्री तथा वितरण गर्दै आएको व्यावसायिक समूह हो। सवारीसाधनसम्बन्धी क्षेत्रमा लामो समयदेखि सक्रिय ग्रुपले नेपालमै ब्याट्री उत्पादनको क्षेत्रमा समेत काम गर्दै आएको छ।
ग्रुपले विपद्को समयमा सरकार, निजी क्षेत्र तथा आम नागरिकबीचको सहकार्यबाट प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।