काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क दूरसञ्चार सेवाको अवधि थप सात दिन बढाएको छ। सहज सञ्चार, खोज तथा उद्धार र राहत वितरण कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले भदौ २० गतेदेखि भदौ २६ गतेसम्म निःशुल्क सेवा उपलब्ध गराउने जनाएको हो।
थप गरिएको अवधिमा प्रभावित क्षेत्रमा एनसेलका दूरभाष, इन्टरनेट तथा छोटा सन्देश सेवा निःशुल्क उपलब्ध हुनेछन्।
यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गतेदेखि प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क दूरभाष, इन्टरनेट तथा छोटा सन्देश सेवा उपलब्ध गराउने घोषणा गरेको थियो। त्यसपछि सेवाको अवधि थप सात दिन बढाएर भदौ १९ गतेसम्म पुर्याइएको थियो।
एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ताले विपद्को कठिन समयमा सहज सञ्चार सुनिश्चित गर्न निःशुल्क सेवाको अवधि पुनः थप गरिएको बताए। प्रभावित क्षेत्रमा अवरुद्ध भएका दूरसञ्चार टावरमध्ये ९२ प्रतिशत पुनः सञ्चालनमा आइसकेकाले निःशुल्क सेवाबाट प्रभावित समुदायले परिवार तथा आफन्तसँग सम्पर्कमा रहनुका साथै उद्धार तथा राहतमा खटिएका टोलीले आवश्यक समन्वय गर्न सहज हुने उनको भनाइ छ।
९२ प्रतिशत दूरसञ्चार टावर पुनः सञ्चालनमा
भोटेकोशी बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका एनसेलका ९२ प्रतिशत दूरसञ्चार टावर पुनः सञ्चालनमा आएका छन्। बाढीका कारण कम्पनीका २७ वटा टावर अवरुद्ध भएका थिए।
कम्पनीले बिहीबार नुवाकोटको त्रिशूलीमा रहेको आफ्नो २५औँ टावर पुनः सञ्चालनमा ल्याएको जनाएको छ। रसुवाको घट्टेखोला, टिमुरेमा रहेको एउटा टावर भने बाढीका कारण पूर्ण रूपमा नष्ट भएको छ।
त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका-तिरुमा रहेको अर्को टावरमा हेलिकोप्टरमार्फत आवश्यक उपकरण पुर्याएर सेवा पुनः सञ्चालन गर्ने तयारी भइरहेको एनसेलले जनाएको छ।
विपद्को समयमा सूचना आदानप्रदान, आपसी समन्वय तथा खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन सञ्चार सेवाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। निःशुल्क सेवाका कारण प्रभावित नागरिकलाई परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीसँग सम्पर्कमा रहन सहज भएको कम्पनीको भनाइ छ।
एनसेलले विपद्को समयमा सञ्चार सेवा निरन्तर राख्नुका साथै खोज, उद्धार, राहत तथा जनचेतनामूलक कार्यमा समेत सहयोग गर्दै आएको जनाएको छ। सम्बन्धित निकायबाट जारी गरिएका जानकारीमूलक सन्देशहरू छोटा सन्देश, कल टोन तथा सामाजिक सञ्जालमार्फत समेत प्रवाह गरिरहेको कम्पनीले जनाएको छ।
यसैबीच, बाढी गएको भोलिपल्टै एनसेलले खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत एक करोड रुपैयाँ सहयोग गरेको थियो।