• Menu

इटालीमा मेलोनीको ऐतिहासिक रेकर्ड, दोस्रो विश्वयुद्धपछि सबैभन्दा लामो समय टिक्ने सरकार

नेपाल प्रफिट

२०८३ भदौ १९, शुक्रबार १६:१५

इटालीमा मेलोनीको ऐतिहासिक रेकर्ड, दोस्रो विश्वयुद्धपछि सबैभन्दा लामो समय टिक्ने सरकार

एजेन्सी । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले युद्धपछिको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकारको नेतृत्व गरेको रेकर्ड बनाउँदै शुक्रबार दक्षिणी सहर बारीमा राजनीतिक र्‍याली आयोजना गरेकी छन् । सन् २०२७ को निर्वाचनलाई लक्षित गरिएको र्‍यालीमा उनले सरकारका उपलब्धि प्रस्तुत गर्दै समर्थकलाई आगामी चुनावका लागि एकजुट गर्ने अपेक्षा गरिएको छ ।

मेलोनीको सरकारले शुक्रबार एक हजार ४१३ दिन पूरा गर्दै पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको रेकर्ड तोड्नेछ । पछिल्लो ८० वर्षमा ६८ वटा सरकार बनेको इटालीमा गठबन्धनभित्रका विवादका बाबजुद मेलोनीले सत्ता टिकाएकी हुन् ।

मेलोनीको ‘ब्रदर्स अफ इटाली’ पार्टीले आयोजना गरेको कार्यक्रममा करिब १० हजार समर्थक सहभागी हुने अपेक्षा गरिएको छ । ‘सबैभन्दा स्थिर सरकार, सबैभन्दा बलियो इटाली’ नारासहितको कार्यक्रममा मेलोनीले सन् २०२२ यता रोजगारीमा १० लाखभन्दा बढी वृद्धि र व्यक्तिगत आयकरमा २१ अर्ब युरो कटौतीलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्ने छिन् ।

सरकारले देशको वित्तीय अवस्थामा सुधार आएको दाबी गरे पनि आलोचकहरूले आर्थिक वृद्धि कमजोर रहेको बताएकी छन् । ट्रेड युनियन सीजीआईएलका प्रमुख माउरिजियो लान्डिनीले तलब नबढेको, पेट्रोल महँगिएको, रोजगारीको असुरक्षा बढेको र स्वास्थ्य सेवा कमजोर बनेको बताए ।

मेलोनीको गठबन्धनले सार्वजनिक सुरक्षा र आप्रवासन नियन्त्रणमा केन्द्रित करिब ३०० कानून तथा आदेश पारित गरेको छ । सन् २०२२ मा अवैध आप्रवासन नियन्त्रण गर्ने प्रतिबद्धतासहित चुनाव जितेको ‘ब्रदर्स अफ इटाली’ ले आफ्ना नीतिका कारण आप्रवासी आगमन ८० प्रतिशत घटेको दाबी गरेको छ ।

यसैबीच, सरकारविरोधी प्रदर्शनकारीहरूले मेलोनी सरकारमाथि युद्ध र हतियारको अर्थतन्त्रलाई बढावा दिएको, ‘पुलिस राज्य’ निर्माण गर्न खोजेको र आप्रवासीविरुद्ध घृणाको वातावरण सिर्जना गरेको आरोप लगाएका छन् । आगामी निर्वाचनअघि मेलोनीको दक्षिणपन्थी आधारलाई चुनौती दिने नयाँ राजनीतिक शक्ति पनि उदाउँदै गएको बताइएको छ ।