काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि पीडितको राहत, उद्धार र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका निम्ति काठमाडौं सुनचाँदी व्यवसायी संघले वित्तीय सहयोग गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको समन्वयमा संघले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा कुल १५ लाख २५ हजार दुई सय ५५ रुपैयाँ हस्तान्तरण गरेको हो।
विपत्को समयमा आफ्नो सामाजिक दायित्व पूरा गर्दै रकम संकलनमा हात मिलाउने सम्पूर्ण व्यवसायी तथा सहयोगीप्रति संघले कृतज्ञता प्रकट गरेको छ। यस आर्थिक सहयोगले बाढीपहिरोका कारण घरबारविहीन र संकटमा परेका परिवारलाई तत्काल राहत पुर्याउन ठूलो आड मिल्ने संघको विश्वास छ।
आपत्कालीन अवस्थामा प्रस्तुत गरिएको यो ऐक्यबद्धता र सहकार्यका लागि काठमाडौं सुनचाँदी व्यवसायी संघले सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।