• Menu

उद्धार तीव्र पार्न प्रधानमन्त्रीसँग सर्वदलीय बैठक र ‘हिमालयन जलवायु कोष’ स्थापनाको माग

नेपाल प्रफिट

२०८३ भदौ १८, बिहीबार १७:१५

उद्धार तीव्र पार्न प्रधानमन्त्रीसँग सर्वदलीय बैठक र ‘हिमालयन जलवायु कोष’ स्थापनाको माग

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढी प्रभावित क्षेत्रमा फसेका तथा सम्पर्कविहीन नागरिकको खोजी र उद्धार कार्यलाई तीव्रता दिन प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्ने माग प्रतिनिधिसभामा उठेको छ ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले केन्द्र, प्रदेश र स्थानीय तहमा सर्वदलीय संयन्त्र गठन गर्ने दलहरूबीच निर्णय भइसकेकाले त्यसलाई कार्यान्वयनमा ल्याउन प्रधानमन्त्रीले सर्वदलीय बैठक आयोजना गर्नुपर्ने बताए ।

पुनले विपद्पछिको तत्कालीन खोज, उद्धार तथा राहतसँगै दीर्घकालीन पुनर्स्थापना र विपद् व्यवस्थापनका लागि स्पष्ट रणनीति आवश्यक रहेको उल्लेख गरे । बाढीका कारण जलविद्युत आयोजना, सुरुङ तथा विद्युतगृहमा फसेका नागरिकको तत्काल खोजी तथा उद्धार गर्न र राहत वितरणलाई प्रभावकारी तथा न्यायोचित बनाउन उनले सरकारको ध्यानाकर्षण गराए ।

उनले राष्ट्रिय हिमालयन जलवायु तथा विपद् कोष स्थापना गर्न, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन तथा हिमाली क्षेत्रको नियमित अनुगमन र अध्ययन गर्ने स्थायी व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बाढी प्रभावित क्षेत्रमा अझै केही सुरुङमा नागरिक फसेको हुनसक्ने भन्दै तत्काल उद्धार टोली परिचालन गर्न आग्रह गरे । उनले उपलब्ध सबै साधनस्रोत परिचालन गर्नुका साथै उद्धार कार्यमा विज्ञहरूको सहयोग लिन सुझाव दिए ।

श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले बाढीबाट भएको क्षतिलाई जलवायु न्यायको विषयसँग जोडेर अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने बताइन् । विपद्को समयमा राजनीतिक दल, राज्यका निकाय तथा नागरिकबीच एकता, सहयोग र ऐक्यबद्धता आवश्यक रहेको उनको भनाइ थियो ।